काठमाडौँ – मुलुकको २८औँ प्रहरी महानिरीक्षक (आइजी) मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक 9एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।


ADVERTISEMENT


यही बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज मन्त्रिपरिषद्ले थापालाई आइजीमा बढुवा गरेको हो । हाल उहाँ प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएक ा छन् ।


ADVERTISEMENT

# # #


भक्तपुरको कटुञ्जे (हालको सूर्यविनायक नगरपालिका) मा जन्मिएका थापा अब्बल प्रहरी अधिकृत हुन् । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आएका थिए । अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै थिए । विसं २०७५ असोजमा डिआइजी भएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा भएका थिए ।

उनीसँगै अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा थिए । एआइजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै छन् ।

गत माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा भएका ज्ञवाली पाँच महिना मात्रै आइजिपीको कार्यकाल छ । उनको कार्यकालको अधिकांश समय कोभिड–१९ सङ्क्रमणमा रुमल्लिन पुग्यो ।

इमान्दार र कुशल सङ्गठनको रुपमा चिनिएका उनको कार्यकाल पनि विवादरहित नै रह्यो । कोभिड–१९ का कारण खास उल्लेखनीय नयाँ काम गर्न पाएनन् ।

थापाको कार्यकाल भने आगामी विसं २०७९ साल वैशाखसम्म रहनेछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बुधबार साँझ प्रहरीको स्वागत र बिदाइको कार्यक्रम राखिएको जानकराी दिए ।

थापाको सङ्गठनमा यस्तो छ योगदान

विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिएका थिए । त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरे । तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिन्छन् ।

प्रहरी समूहका ९८औँ व्याजमा उनीसँगै हालका एआइजी पाल पनि प्रवेश गरेका थिए । थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गरेका उनकाका सहकर्मीहरु केही डिआइजी त भने केही एसएसपी नै हुन् । नवनियुक्त आइजी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिन्छन् । पाल भने कमान्ड नियन्त्रणमा पोख्त छन् ।

प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिएका थिए । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व गरेका थिए । प्रहरी उपरीक्षक भएपछि उनले झापा र कास्की प्रहरीको नेतृत्व सम्हालेका थिए । उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत भए । उनी एआइजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख हुन् ।

हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एकैचोटि बढुवा भएर महानिरीक्षक बनेका थिए । उनको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ ।

ज्ञवालीअघिका प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताए ।

चार वर्षअघि जयबहादुर चन्द आइजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आइजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआइजीबाट बढुवा हुँदा तत्कालीन डिआइजी रमेश खरेलले राजीनामा दिएका थिए । प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आइजी हुने आधार छ । रासस