काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकट सहमतिकै आधारमा अन्त्य गर्नेगरी छलफल अगाडि बढाएको छ ।


ADVERTISEMENT


दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चार घण्टा लामो छलफलमा आन्तरिक मतभेद अन्त्य गर्ने विविध कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आइतबार ३ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठकमा सहमतिको सन्देश दिने उद्देश्यले बसेको सचिवालय बैठकमा संकट अन्त्यको विविध कोणबाट छलफल भएपनि ठोस सहमति भने नभएको प्रवक्ता श्रेष्ठले बताए। “पार्टी एकता रक्षा र सुदृढ गर्दै जनताको जनादेशअनुसार काम गर्नेगरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निर्णय भएको छ” उनले भने । बैठकमा अध्यक्षसहित नेताहरुले विभिन्न विचार प्रस्तुत गरेको र समस्याको समाधान सहमतिकै आधारमा निकालौं भन्ने भएको उनले बताए ।

राम्रोसँग छलफल भएको छ, अझै व्यवस्थित ढंगले प्रस्तावहरु बैठकमा आएपछि थप छलफल हुने उनले प्रष्ट पारे । पत्रकारको जिज्ञासापछि नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने निर्णय नभएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीको राजिनामाको विषयमा पत्रकारको प्रश्नको जवाफ त्यो विषय कुनै प्रस्ताव नबनेको र निर्णयार्थ प्रस्तुत पनि नभएको बताए । भोलि स्थायी समितिको बैठक निर्धारित समयमै हुने उनले जानकारी दिए ।