महोत्तरी — महोत्तरी गाउँपालिका–३ मडही घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको छ । सरकारी सेवाबाट अवकाश लिई घरमै बसेका उनको मंगलबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको महोत्तरी स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।


ADVERTISEMENT


रुघाखोकीले सताएपछि उनी १५ दिन पहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पतालले धरान रेफर गरेको थियो ।


ADVERTISEMENT

# # #


धरानमा गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको दुई दिनमै उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । खेतमा काम गर्ने क्रममा झरीमा रुझेपछि रुघाखोकी सुरु भएको र कोरोनाको संकेत देखिएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको परिवारले जनाएको छ ।

मंगलबार साँझ उनलाई अस्पतालले मृत घोषणा गरेपछि परिवारजनले बुधबार शव जिल्लामा ल्याएका हुन् । नेपाली सेनाको टोलीले उनको शवलाई व्यवस्थापन गरिसकेको छ । नेपाली सेनाले महोत्तरीको जलेश्वर–१ स्थित रातु खोलानजिक शव व्यवास्थापन गरिएको रणभीम गण महोत्तरीका गणपति विदुर अधिकारीले जानकारी दिए ।