वैतडी – पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ । पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो ।


ADVERTISEMENT


बिओपीमा रुपान्तरण गरिए पनि सशस्त्रको टोली अहिले पनि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाकै भवना बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताए । भवन निर्माणका लागि ३२ दिने सूचना प्रकाशित गरिएको उनले बताए । भवन निर्माणका लागि बोलपत्र हुने र त्यसपश्चात् भवन निर्माणको काम अगाडि बढ्ने सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ ।


ADVERTISEMENT

# # #


भवन निर्माणको लागि पञ्चेश्वर गाउँपालिकाले सशस्त्रको नाममा यसअघि १५ रोपनी जग्गा सिफारिस गरिसकेको थियो । सोही जग्गामा सशस्त्रको भवन बन्ने भएको हो । आफ्नै भवन बनेपछि सशस्त्रलाई बस्न र सीमा सुरक्षाका लागि सहज हुने बताइएको छ ।

यस्तै जग्गा उपलब्ध नहुँदा सदरमुकाम गढीमा रहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटरलाई भने समस्या भएको छ । उक्त गुल्म हाल सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको र त्यहाँ ठाउँ साँघुरो भएकाले समस्या भएको हो । दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म पनि उपलब्ध हुन नसकेको हो । यसका साथै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ ।