काठमाडौँ- कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण सबै पेसा, उद्योग र व्यवसायले लिएको ऋणको सावाँ र ब्याजको थप हर्जना नलिई समय थप गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


राष्ट्र बैङ्कले गत साता सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यसाथ जारी एकीकृत निर्देशिका अनुसार कोरोना प्रभावित व्यवसायीलाई कोरोना प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल्टी, ब्याज र शुल्क र हर्जना तथा ब्याजको ब्याज नलिई समय थप गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई जारी गरिएको निर्देशनमा न्यून प्रभावित, मध्यम प्रभावित तथा अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको सावाँ तथा ब्याज रकमलाई कुनै किसिमको थप हर्जना नलिई समय थप गर्न निर्देशन दिएको हो ।राष्ट्र बैङ्कले यसअघि कोरोनाबाट प्रभावित उद्योगी÷व्यवसायीलाई विभिन्न चरणमा वर्गीकरण गरी कर्जाको ब्याज तिर्ने अवधि थप गरेको छ ।

कोरोनाको महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव र त्यसबाट वित्तीय क्षेत्रमा पर्नसक्ने असर तथा उद्योग व्यवसायको पुनरुत्थानमा लाग्न सक्ने समय आदिको अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई न्यून प्रभावित, मध्यम प्रभावित र अति प्रभावित गरी तीन वर्गमा वर्गीकरण गरेको छ ।
राष्ट्र बैङ्कले कोरोनाबाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने सावाँको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न निर्देशन दिएको छ ।

यस्तै, मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने सावाँको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न र अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने सावाँको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्नसकिने व्यवस्था छ ।

पुनःस्थापित हुन समय लाग्ने पर्यटन क्षेत्रलगायतका अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने सावाँको किस्ता र ब्याज रकमको भुक्तानीका लागि दुई वर्षसम्मको समय प्रदान गरिने भएको छ ।