नवीन रिजाल, दैलेख – कर्णालीको निकै प्रसिद्ध तीर्थस्थल मानिएको महाबु धाममा पुग्ने धार्मिक तीर्थयात्रीले यात्रा शुरु गरेका छन् ।

सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र हुम्लाका हजारौं भक्तजन बर्सेनि पूजाका लागि महाबु धाम पुग्ने गरेका छन् । धाममा प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ । महाबु पुग्ने भक्तजन पूजाका लागि जनै पूर्णिमाको अघिल्लो दिन पाटन पुग्नैपर्छ ।


ADVERTISEMENT


# # #


शिवको पूजापाठ गरेपश्चात् दैलेख र कालिकोटलगायत देशैभरका अन्य कूल देवता र मठमन्दिरमा पूजा गर्ने सयौँ वर्ष पुरानो चलन अहिले पनि कायमै रहेको छ । यातायातका साधनमार्फत दैलेख सदरमुकाम हुँदै महाबु पुग्ने तीर्थयात्रीलाई यो वर्ष रोक लगाइएको छ । जिल्लामा कोरोना सङ्क्रमण पुनःबढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरेर यातायातका साधन प्रयोग नगर्न भनेको छ । यातायातका साधन बन्द गरेपछि १७, १८ र १९ गते सम्म लाग्ने महाबु धामको मेला भर्न १५ गतेदेखि नै पैदल यात्रामा तीर्थयात्री उकालो लागेका छन् ।

महाबु गाउँपालिका, नौमूले गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने महावु धाममा पैदलयात्रासँगै सवारीसाधन प्रयोग गरेर सजिलै पुग्न सकिने भएपछि गत वर्ष तीर्थयात्रीको सङ्ख्या अत्यधिक भएको भए पनि यो वर्ष सवारीसाधन बन्द गरिएको र कोरोना कहरले गर्दा घट्नसक्ने पूजा समितिले जनाएको छ ।

लेकाली चराचुरुङ्गी, पशुचौपाया र वन्यजन्तुको भीडमा रमाउँदै तीर्थयात्री महाबुसम्म पुग्ने गरेका छन् । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइको धाम महाबु र कालीकोट महाबु गाउँपालिकाको सिमानामा पर्छ । तीर्थस्थलको नामबाटै यी दुई स्थानीय तहको नामकरण भएको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । उनका अनुसार हिउँदमा बाक्लो हिमपात हुने भए पनि वर्षा लागेपछि महाबुमा स्थानीयवासी र भक्तजनको घुइँचो लाग्ने गरेको छ । खान र बस्नको व्यवस्था नभएकाले अधिकांश तीर्थालु घरबाटै ‘टेन्ट’ र ‘म्याट’ लिएर महाबु पुग्ने गरेको उनको भनाइ छ ।

पहाडको उकालो चिसो लेक लाग्ने स्थानमा रहेको शिवको दर्शन गर्न दैलेख, सुर्खेत, कालिकोट, नेपालगञ्ज, काठमाडौँ र भारतबाट समेत मानिस आउने गरेको महाबु गाउँपालिकाका अध्यक्ष शाहीले बताए । महाबु पुग्ने यात्रुका लागि उचित बासस्थान नभएर सधैँ समस्या हुने गर्दछ । अग्ला पहाडका ढुङ्गाको चरोभित्र बसेर पनि यात्रुले रात गुजार्नै गर्दछन् । यो वर्ष लगातार वर्षात् भएकाले चिसो बढ्नसक्ने देखिएको छ । रमणीय पाठन लेक, बुकी झार, उच्च भागमा पनि समतल भूभागको मनोरम दृश्यावलोकन र एउटा मात्र वर मागे पूरा हुने विश्वासका कारण महाबु धाममा धार्मिक पर्यटकको चाप वर्षेनि बढ्दै गएको छ ।

एक हजार वर्ष पहिले दैलेख भूर्तीका बोल्न नसक्ने आचार्य ब्राहमणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दूध चढाएका र पछि ढुङ्गा फुटेर शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ । अहिले पनि शिवलिङ्ग आकारकै ढुङ्गामा पूजापाठ गरिन्छ । एउटा मात्र वर मागे पूरा हुने विश्वासले मानिस दर्शनका लागि जाने गर्दछन् । भूर्तीका आचार्य ब्राहमणले शिवलिङ्गमा दूध चढाउने र कालिकोटका काफ्लेले शिव देवताको पहिलो पूजा पाठ गर्ने गर्दछन् ।

दुई स्थानमा सुरक्षाकर्मी खटाउने तयारी

दैलेख हुँदै महाबु धाम जाने तीर्थयात्रीका लागि र कालिकोटबाट महाबु आउने तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै दुई स्थानमा सुरक्षा निकायको टोली खटाउने तयारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । सामाजिक दूरी कायम गरेर पूजापाठको व्यवस्थापन गरिएको छ । मानिसलाई धेरै बेर हुल गरेर बस्न नदिने र पूजासक्नेबित्तिकै फर्कने व्यवस्थापन मिलाउने तयारी प्रशासनले गरेको छ । रासस

प्रतिकृया

प्रतिकृया