भक्तपुर– मध्यपुरथिमिमा २८ वर्षपछि आजदेखि महाकाली नाच सुरु भएको छ । हरेक वर्ष सञ्चालन हुँदै आएको यो नाच अर्थाभावका कारण बन्द रहँदैआएको थियो ।


ADVERTISEMENT


मध्यपुरथिमि नगरपालिका– ५ र ६ का युवा मिलन केन्द्रआवद्ध युवाको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर आजदेखि नाच सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले आजदेखि चारदिनसम्म टोलटोलमा नाच नचाइने बताउँदै भने – “आजदेखि सुरु भएको महाकाली नाच चाररातसम्म सञ्चालन गरिने छ । अब हरेक वर्ष यो नाच चलाउँछौं, रोक्दैनौं ।” नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै टोलटोलमा नचाइनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाच सुरु हुनेछ र नाच्दै बालकुमारी मन्दिरसम्म पुग्छ । यो नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिको विभिन्न टोलको परिक्रमा गरी चोक चोकमा नाच्ने प्रचलन छ ।

देवी सुजन दै श्रेष्ठ, महाकाली अविन प्रजापति, महालक्ष्मी राजु माग श्रेष्ठ, बेता रवी प्रजापति, सन्देश हामो श्रेष्ठ, अमेश नकर्मी सुजन बसी श्रेष्ठ, भूत भैरब सजन दै श्रेष्ठ, प्रकाश बायजू श्रेष्ठले नाच्ने भएका छन् ।

त्यसैगरी, कवाः देव पिला श्रेष्ठ, सुरज प्रजापति, ख्याः रोहन राजवाहक, विकेश पिला श्रेष्ठ, सिंह राजेश पिला श्रेष्ठ र माकः रोजेन विसिद्यो श्रेष्ठले नाच्ने भएका छन् ।

बाजा बजाउने तथा नाचका गुरुहरूमा केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकां श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दै श्रेष्ठ, लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ रहेका छन् । बाजामा भने मुहाली बजाउनेको अभाव रहेको छ ।

नाच सञ्चालनका लागि करिब रु १५ लाख ८० हजार बताइएको छ । नगरपालिका, कलाकार, समिति, स्थानीय बासिन्दा, संघसंस्थाबाट रकम संकलन गरेर नाच संचालन गरिनेछ । रासस