काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारसमक्ष ७ बुँदे सुझाव र माग राखेका छन् ।


ADVERTISEMENT


लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित पनि बढेपछि आवश्यक राय लिन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सुझाव मात्रै नलिएर तिनको कार्यान्वयनमा पनि ध्यान दिन सुझाएका छन् ।


ADVERTISEMENT

# # #


छलफलमा देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गर्न, स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नभई कारबाही गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गरेको नेपाली कांग्रेसका मुख्य सचिव जानकारी दिएका छन् । यस्तै देउवाले आरडीटी परिक्षण स्थायी रुपले अन्त्य गर्न, एक प्रदेशमा एकलाख नयाँ पीसीआर परिक्षण गर्न, आवश्यक स्वास्थ्य सामग्री, आइशोलेसन र भेन्टिलेटरको प्रवन्ध गर्न क्वारेन्टिनको गुणस्तर बढाउन, नेपालीको उद्दार बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल सुझाव दिएका छन् ।

यस्तै जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गर्न, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन समेत सुझाव दिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

छलफलमा विज्ञसहित प्रमुख विपक्ष दलका नेताहरु सहभागी थिए ।

यस्ता छन् देउवाले प्रधानमन्त्री ओलीसमक्ष राखेका ७ बुँदे माग र सुझाव

१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न विशेष ध्यानाकर्षण गराउँदछु ।

– आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।
– सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन ।
– विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पुर्‍याउने व्यवस्था ।
– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।
– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस् ।