– वाशु नेपाल


ADVERTISEMENT


सामान्यतया युवा भन्नाले निश्चित उमेर समूहभित्र पर्ने महिला, पुरुष र तेस्रोलिंङ्गी व्यक्तिलाई जनाउँछ। विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघ संस्थाले आ–आफ्नो अनुकूलतामा युवा उमेर समुहलाई विभाजन गरेको पाईन्छ । संयुक्त राष्ट्रसंघका विभिन्न निकाय तथा क्षेत्रीय संगठनहरु तथा विश्वका अधिकांश मुलुकहरूका आ–आफ्नै उमेर समुहको वर्गीकरण भएतापनि विशेषत: १५–३५ वर्षभित्रका सबै मानिस युवा हुन् भन्नेमा सबै सहमत रहेको पाईन्छ । नेपालमा पनि खासगरी १६,४० वर्षभित्रका सबै मानिसलाई युवाको परिभाषाभित्र समेटिएको मानिएता पनि बोलिचाली या चलनचल्तीमा भने वृद्धभत्ता थाप्नु अघिका अधिकांश मानिसलाई युवा भन्ने गरेको पाईन्छ ।


ADVERTISEMENT

# # #


वास्तवमा एकातिर युवा भनेको न पुरुष हो न त महिला नै भने अर्कोतिर दुवै नै हो । युवा लैङ्गिक विषय हुँदै होइन र बायोलोजीकल पनि होइन । फेरि युवा भनेको सारमा जैविक विषय पनि होइन । अनि युवा भनेको मानिस मात्र पनि होइन। युवा उमेर समूहभित्र समेटिएको कुनै रुढीवादी व्यक्ति त झन न युवा नै हो न मानिस, उ केवल जैविक वस्तुमात्र हो । तसर्थ युवा नवीन विचार हो, उर्जा हो अर्थात बिहानीको किरण हो । जोश, जाँगर र हिम्मत हो, परिवर्तनको संवाहक हो। विश्वलाई बदल्न सक्ने जुनसुकै शक्ति युवा हो । समग्रमा युवा चेतना हो । तसर्थ खास उमेर समूहलाई युवा भनिएता पनि सारमा त्यसरी नै बुझ्नु महाभूल हुनेछ । वृद्ध व्यक्तिको मगजबाट उत्पादित नवीन विचार र लक्काजवान व्यक्तिको पुरातनवादी सोच दुवैलाई युवाको एउटै तराजुमा राख्नै मिल्दैन।

जुनसुकै वस्तुको पनि तीनवटा चरण वा काल (पूर्वार्द्ध, मध्य र उत्तरार्द्ध भएजस्तै युवा उमेर समूहलाई पनि सोहि बमोजिम ‘अर्ली युथ एज’, ‘मिड युथ एज’ र ‘लेट युथ एज’ गरी क्रमशः १६–२४, २५–३२ र ३३–४० गरी तीन चरणमा वर्गीकरण गर्न सकिन्छ । यसरी हेर्दा अघिल्ला दुईवटा चरणका युवाले एकखाले चेतना, प्रवृती र सोच अंगालेको पाईन्छ जस्तैः सहपाठीसंग यौन आकर्षण वा प्रेम सम्बन्धदेखी लिएर सामाजिक संजालमा विभिन्न ट्रोल बनाउने, पढाई साथै जागीरको खोजिमा दौडधुप गर्ने र विवाह वा घरजमको बारेमा सोच्ने । न त उनिहरु परिवार, समाज र मुलुकप्रती चिन्तित वा जिम्मेवार रहेको पाईन्छ न त आफ्नै भविष्यप्रति ।

पछिल्लो समयमा विभिन्न सामाजिक संजालको विकास र प्रयोगसंगै यी युवाहरूमा ज्ञान प्राप्त गर्ने आयाम त धेरै होलान् तर मुलुकको राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक अवस्थाबारे उनीहरु अज्ञातप्रायः छ्न् किनकि त्यसप्रति उनीहरु चासो नै राख्दैनन् । यसले के प्रष्ट पार्दछ भने अब विकसित भैरहेका युवा पुस्तामा राजनीतिक चेतनाको विकास नगर्ने हो भने अन्ततोगत्वा गैह्रराजनीतिक व्यक्ति सत्तामा पुगेर हावी हुने र दिशाहीनताको कारण मुलुक दुर्घटनामा पर्नसक्ने ठूलो खतरा छ । म यहीँनेर के स्मरण गर्न चाहन्छु भने केहिदिन अघिमात्र फेसबुकमा एकजना मित्रले आफ्नो छिमेकी महिला हराएको र खोजीकार्यमा सहयोगको अपेक्षासहितको सूचना पोस्ट गरेका थिए ।

अधिकांश युवाहरुले ती महिलाबारे विभिन्न चरित्रसँग जोडेर कमेन्ट गरेको पाईयो । यसले आजका युवाको चेतनास्तर र भविष्यमा उनीहरुबाट मुलुकले गर्ने आशा सम्बन्धमा सबैकुरा छर्लङ्ग पार्छ । के एउटी महिला हराउनुको पछाडि यतिमात्र कारण हुनसक्छन ? हामी किन कुनैपपनि कुरालाई सकारात्मक रुपमा सोच्न वा ग्रहण गर्न सक्दैनौं ? यसले आजका युवाहरूमा सामाजिक–सांस्कृतिक रुपान्तरणको अपरिहार्यतालाई प्रष्ट पार्दछ । ईन्टरनेटको बढ्दो प्रयोग, बाबुआमाको व्यस्त सहरिया जीवनशैली, सहपाठी तथा साथीभाइको संगत र व्यवहार, सामाजिक–पारिवारिक वातावरण आदिले युवाको सर्वाङ्गीण विकासको सन्दर्भमा महत्त्वपूर्ण अर्थ राख्छन् । सामाजिक–सांस्कृतिक चेतना र संस्कारसहितको पारिवारिक वातावरणमा आफ्ना केटाकेटी हुर्काउन सकेमात्र आजका युवा भोलिका कर्णधारू भन्ने भनाई चरितार्थ हुनेछ।

संसारका हरेक मुलुकले युवासम्बन्धी विभिन्न पोलिसी निर्माण गरेको पाईन्छ । मुलुकको सर्वाङ्गीण क्षेत्रमा युवाको व्यापक सहभागिता समेत गराएको पाईन्छ। फिनल्यान्डमा ३४ वर्षकी महिला प्रधानमन्त्रीसहित सोही उमेर आसपासका थप तीन महिला मन्त्रीले मुलुक हाँकिरहेका छन् । छिमेकी मुलुक भुटानमा समेत निक्कै सुदृढ र पृथक राजनीतिक व्यवस्था, चुस्त सुरक्षा प्रणाली र जनउत्तरदायी सरकार भएकै कारण विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस पूर्णतः नियन्त्रणमा छ । संक्रमितको संख्या एक सयको हाराहारीमा छ भने मृत्यु शून्य छ । सायद नेपालमा भने मरणोपरान्त मात्र सार्वजनिक पद वा राजनीतिबाट टाढा हुने स्थितिका कारण युवालाई राजनीतिप्रती वितृष्णा जागेको होइन भन्न सकिन्न ।

राजनीतिप्रति चासो राख्ने र कुनै न कुनै रुपमा संलग्न उत्तरार्ध उमेर समूहका युवा भने अर्कैको डमरु र घण्टी बजाउँछ्न। अफ्नो चेतना र दृष्टिकोणलाई अघि सार्ने ल्याकत राख्दैनन् । तथापि यहाँनेर राजनीतिमा पुस्तान्तरणको आवश्यकता र अपरिहार्यतालाई सबैले महशुस गरेको भएता पनि उच्चस्थ नेतृत्व सो कुरामा न ध्यान दिन्छ न त जोखिम नै मोल्छ । किनकि त्यो कदम आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने उसले ठान्दछ । राजनीतिका अलावा युवालाई लक्षित गरेर विभिन्न उद्द्योगधन्दा, पेशा व्यवसायका लागि आकर्षण गर्न खोजिए पनि त्यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो भएको पाईन्छ । कोहिपनि युवा प्रत्यक्ष लाभान्वित भएको हालसम्म प्राप्त भएको छैन । जबसम्म हरेक क्षेत्रमा विद्यमान बिचौलिया प्रवृती राजनीतिमा समेत हावी भइराख्छ तबसम्म जस्तोसुकै नीति बनाईए पनि बीच बाटोमै अलमलिएर लक्षित समुदाय वा वर्गसम्म आईपुग्नै सक्दैन ।

शिक्षाप्रणालीलाई जबसम्म श्रम, रोजगार र उत्पादनसंग जोड्न गर्न सकिँदैन तबसम्म न युवाको चेतनामा परिवर्तन आउँछ न त मुलुकको अर्थव्यवस्थामा नै । पढेर के गर्नुरु बरु विदेश गए परिवार पालिन्छ भन्ने एकथरी र राजनीति फोहोरी खेल हो, नेताहरु सब खराब हुन् अनि नेपालमा पढेर के गर्नु जागिर खान सोर्सफोर्स चाहिन्छ भन्दै उच्च शिक्षाको नाममा विदेश पलायन हुने अर्कोथरी अनि स्वदेशमै बसेर केही गर्न खोजेपनि अवसर नपाईरहेका युवा जमातबाट दशकौंदेखि लादिएको निराशापूर्ण चेतनाका कारण अबका युवा न त राजनीतिप्रती आकर्षित भइरहेको पाईन्छ न त कुनै पेशा व्यवसायप्रति ।

यो अवस्थाको बेलैमा राज्यले सम्बोधन गर्न जरुरी छ नत्र यो अवस्थाले नेतृत्वबिहीनता, ब्रेन ड्रेन लगायत समस्या सिर्जना गराइ मुलुकलाई अस्थिरतातर्फ धकेल्न प्रेरित गर्नेछ । तसर्थ घर–घरबाट, स्कुल–स्कुलबाट अथवा गाउँ समाज सबैतिरबाट सामाजिक सांस्कृतिक रुपान्तरण सहितको शिक्षित, सभ्य र सुसंकृत नागरिक निर्माणको महाअभियान संचानल गर्नुपर्ने देखिन्छ । यसका अलावा सरकारका हरेक निकायमा युवामैत्री वातावरणको सुनिश्चितता गर्दै हरेक पेशा–व्यवसाय तथा रोजगारीमा युवा सहभागिताको कार्यान्वयन गराउने, शिक्षा प्रणालीमा हेरफेर गरि आवश्यक जनशक्तिको उत्पादन तथा रोजगारीको व्यवस्था राज्यले तत्काल गर्नसकेमात्र व्यापक युवा सहभागितासहित मुलुकले संमृद्धिको यात्रामा गुणात्मक फड्को मार्नेछ ।