काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताएका छन् । बुधबार भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दै मोदीले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


नेपाल, चीन, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडियालगायतका थुप्रै मुलुकमा राम पुजनीय रहेको बताउँदै उनले भने, ‘रामसँग नेपालको आत्मीय सम्बन्ध माता जानकी (सीता)का माध्यमबाट जोडिएको छ ।’ मोदीले अयोध्यामा भगवान रामको मन्दिर बन्नु भारत वर्ष र हिन्दूधर्ममा आस्था राख्नेहरूका लागि ठूलो सौभाग्य रहेको बताए । उनले सम्बोधनका क्रममा भगवान रामको जन्म अयोध्यामा भएको भनाइ पटक–पटक दोहोर्‍याएका थिए।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको दिन ‘राम’ नेपालमा जन्मिएको र भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए। ओलीको अभिव्यक्ति विवादित बनेको थियो ।

अयोध्यामा मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा राम मन्दिरको जग स्थापना गरेका छन् । शिलन्यासपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५०० वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरीकाले सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले राम मन्दिर निर्माणलाई विगत तीन दशकभन्दा बढी समयदेखि नै राजतीनिक मुद्दाका रुपमा उठाउँदै आएको थियो । यो शिलान्यासलाई सत्तारुढ भारतीय जनता पार्टी र त्यस निकट हिन्दुवादी संस्थाहरुले वैचारिक र राजनीतिक जितका रुपमा लिएका छन् ।

सन् १९९२ मा हिन्दूहरुले भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै यही स्थानका मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो । यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो ।