काठमाडौँ – जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।


ADVERTISEMENT


साहित्य सम्मान पुुरस्कारको राशि रु एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको राशि रु ५१ हजार रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


ट्रष्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा बिपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यी पुरस्कार आगामी भदौ २४ गते बिपी जयन्तीका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

यसअघि विसं २०७१ मा बिपी साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशम्शेर थापा र बिपी सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान तारानाथ कोइरालालाई, २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

यसैगरी २०७४ सालमा साहित्यतर्फ प्रा डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई, २०७५ सालमा साहित्यतर्फ रोचक घिमिरे र सेनानी सम्मान चक्रप्रसाद बास्तोलालाई तथा २०७६ सालमा साहित्य सम्मान तिलविक्रम नेवाङ (बैरागी काहिँला) र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।