काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढी-पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।


ADVERTISEMENT


गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका हुन्।


ADVERTISEMENT

# # #


जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुगेका उनले बाढि, पहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिँदै जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए ।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आईतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए । त्यस क्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गरे।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीसहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पत्रकारहरुलगायत सहभागी भएका थिए । सो बाढि र पहिरोमा परी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षति भएको थियो ।