काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धबारे दिएको अभिव्यक्तिबारे नेपालले प्रतिक्रिया दिएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मभूमि नेपाल भएको बारे कुनै अन्योल वा विवाद नभएकाले यसबारे बहसको विषय हुन नसक्ने बताएको छ ।


ADVERTISEMENT


भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।


ADVERTISEMENT

# # #


यसबारे सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको लुम्बिनी गौतम बुद्धको जन्म स्थान भएको कुरा अकाट्य रहेको बताए । उनले भनेका छन्, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’

प्रवक्ता पौडेलले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला नेपालको संघीय संसदलाई सम्बोधन गर्दै नेपाल विश्व शान्तिका अग्रदूत भगवान् गौतमको जन्म स्थान रहेको कुरा उल्लेख गरेको समेत स्मरण गराएका छन् । नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उनले बताएका छन् । यो तथ्यमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पारेका छन् ।

‘सिंगो विश्व समुदाय यो विषयमा जानकार छ,’ उनले भनेका छन् ।