काठमाडौँ  –  सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयहरूमा ५० प्रतिशत कर्मचारी घटाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सरकारले यसअघि नै उपत्यका प्रवेश नाकामा कडाइका साथै निजी तथा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ ।


ADVERTISEMENT

# # #


अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारी कार्यालय, गैरसरकारी निकाय, सहकारी, लघुवित्त, बैङ्क तथा वित्तीय संस्थालगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संस्थाहरूले ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गर्न र बाँकी कर्मचारीलाई घरमै राखी विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्नेछ ।

कार्यालयमा ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई घरबाटै कार्यसम्पादन गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनु पर्नेछ । यस्तै मठमन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि नगर्नसमेत आग्रह गरिएको छ । चाडपर्वहरू घरभित्रै परिवारका सदस्य मात्र रहेर स्वास्थ्य मापदण्ड पालना गरी मनाउनसमेत आग्रह गरिएको छ ।