भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सम्झनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले श्रावण ३२ गते कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त समारोहमा वाजपेयीको तस्वीर परिषद्को परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको जनाईएको छ । वाजपेयी र राष्ट्र निर्माणका लागि गरेको योगदानलाई सम्झिदै उनको दोस्रो पुण्यतिथिमा सो कार्यक्रम हुन लागेको हो ।


ADVERTISEMENT


भारतका विदेश राज्यमन्त्री वी. मुरलीधरन र परिषद्का अध्यक्ष एवम् संसद सदस्य डा. विनय सहस्रबुद्घेको उपस्थितिमा भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा भर्चुअल मोडमा वाजपेयीको तस्वीरको अनावरण गर्दै सो कार्यक्रम सुरु गरिनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै पुरस्कारद्वारा सम्मानित, स्वर्ण पदक विजेता, मुम्बईका सुप्रसिद्ध चित्रकार वासुदेव कामतले वाजपेयीको सो क्यानभास तेल चित्र बनाएका छन् ।


ADVERTISEMENT

# # #


भारतमा आपत्कालीन अवस्थापछि बनेको जनता पार्टीको सरकारको विदेशमन्त्री रहँदा वाजपेयीले सन् १९७७ मार्च देखि सन् १९७९ अगष्टसम्म भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को पदेन अध्यक्षका रुपमा काम गरेका थिए । आफ्नो विदेशमन्त्री कार्यकालको क्रममा सन् १९७७ मा संयुक्त राष्ट्र संघको महासभामा उनले हिन्दी भाषामा भाषण दिएका थिए । यसरी हिन्दी भाषामा महासभामा बोल्ने उनी पहिलो व्यक्ति बनेका थिए ।

उनको सोच र मार्गदर्शनले गर्दा नै भारतीय सांस्कृतिक सम्बन्ध विश्वव्यापी रुपमा अघि बढ्न र फैलिन मद्दत पुगेको बताईन्छ । संसद सदस्यको रुपमा, विदेशमन्त्रीको रुपमा हुँदै प्रधानमन्त्रीको रुपमा वाजपेयीले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को क्रियाकलापमा विशिष्ट एवम् दिगो प्रभाव रहेको बताईन्छ ।

भारतको बाह्य सांस्कृतिक सम्बन्धसँग सम्बन्धित नीति तथा कार्यक्रमहरुको तर्जुमा एवम् कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुन, भारत र अन्य राष्ट्रबीच सांस्कृतिक सम्बन्ध र पारस्परिक समझदारी प्रवद्र्घन एवम् सुदृढ गर्न र अन्य विदेशी राष्ट्र र जनतासँगको सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्घन गर्न सन् १९५० अप्रिल ९ मा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को स्थापना भएको हो । परिषद्का कार्यक्रमलाई विश्वव्यापी रुपमा कार्यान्वयन गर्नका लागि भारतको विभिन्न राज्यमा १९ वटा क्षेत्रीय कार्यालय तथा विदेशमा ३८ वटा सांस्कृतिक केन्द्रहरु रहेका छन् । विगत केही वर्षमा परिषद्को आकार र गतिविधिहरुमा वृद्घि भएको छ र भारतको नरम नीति विस्तार गर्न भारतीय विदेश मन्त्रालयको प्रमुख अङ्गको रुपमा रहेको छ ।