अगस्ट २८ मा ट्विट गर्दै उद्योगपति विनोद चौधरीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए । त्यस लगत्तै सेल्फ आइसोलेशनमा बसेर डाक्टरहरुको सल्लाहमा उनले दैनिक आफ्ना क्रियाकलापहरु गरे । दुई दिनअघि उनी कोरोनामुक्त भएका छन् । उद्योगपति चौधरीले कोरोनाबाट डराउनुपर्ने नभइ आत्मबल बढाएर यसलाई परास्त गर्न सकिने सुझाव दिएका छन् । कोरोनामुक्त भएपछि उनले व्यक्त गरेको कोरोना अनुभूति :


ADVERTISEMENT


मलाई कोरोनाले कतिवेला छोएछ पत्तै भएन । कोरोना लागेको थाहा पाएपछि शुरुमा त एकछिन आत्तिएँ, तर हिम्मत चाहिँ हारिनँ । खासै कुनै लक्षण पनि देखिएका थिएनन्, अलिकति रुघा र सामान्य टाउको दुख्ने लक्षण देखिएका थिए । लक्षण नदेखिएका कारण पनि मेरो आत्मविश्वास घटेन । तत्काल मैले आफूलाई आइसोलेट गरेँ । नर्भिकका डाक्टर विप्लव सापकोटा र सिस्टर दिक्षाको सल्लाहअनुसार मैले आफ्नो जीवनचर्या अघि बढाएँ ।


ADVERTISEMENT

# # #


मैले ट्विटमार्फत आफूलाई कोरोना भएको जानकारी दिएँ । त्यसबाट प्राप्त प्रतिक्रिया, माया, शुभकामना र आर्शिवादले मेरो आत्मबल बढ्यो । मैले थुप्रै शुभचिन्तकहरु कमाएको रहेछु, यो मेरो सबैभन्दा ठूलो पूँजी हो । मलाई लाग्छ यस्तै सकारात्मक सोच, सद्भाव र मायाको खाँचो हरेक संक्रमितले अपेक्षा गरेको हुन्छ । म संक्रमण भएर निको भएको व्यक्तिको हैसियतले आफ्नो अनुभूति बाँड्न मात्र गइरहेको छैन ।

संक्रमित सबैलाई पन्छाउने वा उनीहरुबाट पन्छिने होइन उत्साह र आत्मबल बढाउने काम गर्नुपर्छ ।

कोरोना खासै केही होइन भन्ने भ्रममा चाहिँ नपरौँ । साथसाथै सामाजिक सञ्जालमा अतिरञ्जित गर्ने पोस्टहरु छन् तिनको कुनै स्थान छ भन्ने मलाई लाग्दैन । मेरो आफ्नो अनुभवमा यसको पहिलो लक्षण साधारण रुघा जस्तो हो । त्यो रुघालाई ज्वरो वा खोकीको रुपमा अघि बढ्न नदिनु सबैभन्दा पहिले गर्नुपर्ने प्रयास हो । मेरो बुझाइमा कोरोना भनेको यस्तो किसिमको संक्रमण हो, त्यो कतिपयलाई त थाहा नभइकन गुज्रिसकेको हुन्छ । कतिपयले त मलाई साधारण रुघा लाग्यो भनेर इग्नोर गरेर निको भइसकेको हुनुपर्छ । हाम्रो जस्तो पीसीआर अत्यन्त सीमित रुपमा परीक्षण गर्ने वातावरणको सन्दर्भमा यो झनै सान्दर्भिक छ ।

कोरोना स्रक्रमण भएपछि मैले प्रशस्त तातोपानी, अदुवा, बेसार, कागती एवं प्रकृतिले दिएका गुर्जोसम्मबाट उत्पादन भएका वस्तुको निरन्तर सेवन गरेँ । अक्सिजन र तापक्रमको सही व्यवस्थापनका लागि कुनै डाक्टरकै जरुरत पर्छ भन्ने छैन । यो समयमा मैले नियमित व्यायाम, प्राणायामलाई निरन्तरता दिएँ । मलाई लाग्छ कि यिनै कुराले मलाई निको बनायो !

म पुनःपनि यो भन्न चाहन्छु कि कोरोनासँग डराउने होइन, कोरोना अहिलेको रियालिटी हो यो विश्वको । कुनै न कुनै रुपले योसँग सारा विश्व जुझिरहेको छ । अझैपनि थाहा छैन यसको भ्याक्सिन कहिले आउने हो  ? कोरोनाबाट सकभर बँच्न र लक्षण देखिइहाले पनि त्यसलाई बढ्न नदिनका लागि गर्नुपर्ने सम्पूर्ण प्रयासहरु गर्नुपर्छ नै । तर यसबाट आत्तिएर समस्याको समाधान हुँदैन, उच्च आत्मबल राख्नु र आफूलाई आइसोलेट गर्नू नै पर्दछ ।

(कोरोनालाई जितेपछि उद्ययोगपति चौधरीले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको भिडियोबाट)