काठमाडौँ – सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ । यो नोमिनेशन संख्या गत वर्षभन्दा दुई गुणा बढी रहेको आयोजकले जनाएको छ ।


ADVERTISEMENT


कोभिड–१९ को महामारी र लकडाउनको बाबजुद पनि आइसिटी अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजी भइरहेको अनुभव गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । आइसिटी अवार्डमा यस वर्ष विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुल्ला गरिएको थियो । स्टार्टअप आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा सबैभन्दा धरै नोमिनेशनहरू प्राप्त भएका छन् । सबै विधाहरूमा गत वर्षभन्दा अहिलेको नोमिनेशन उत्साहजनक रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवाडर्, सेल्फ नोमिनेशनका विधाहरू रहेका थिए । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । इन्नोभेसन र वुमन आइकन यस वर्ष थप गरिएका नयाँ अवार्ड विधाहरू रहेको आयोजकले जनाएको छ ।

आइसिटी अवार्ड २०२० को लागि १४ जना विभिन्न क्षेत्रका विज्ञहरू जुरी समितिमा र १२ जना विशिष्ट व्यक्तिहरू जुरी सल्लाहकारमा रहेका छन् । आयोजकले गत बुधवार जुरी र जुरी सल्लाहकारहरूको पहिलो संयुक्त भर्चुअल मिटिङ सञ्चालन गर्दै अवार्डको छनौट प्रक्रियाहरू अघि बढाएको छ ।

विभिन्न निजीक्षेत्रका अग्रज र विज्ञहरू सहित १४ जनाको जुरी समिति रहेको आयोजकले जानकारी दिएको छ । विभिन्न ११ विधालाई यस वर्ष ३ समूहमा विभाजन गरी छनोट प्रक्रिया शुरू भएको आयोजकले बताएको छ ।

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट र इन्नोभेसन विधाहरूमा विभिन्न चरणका छनौटसँगै प्रिजेन्टेशन र पब्लिक भोटिङ समेत सञ्चालन हुनेछ । यसैगरी अन्य विधाहरूमा विभिन्न ३ चरणको छनोट प्रक्रियाहरू रहेको बताइएको छ । अवार्ड विजेताको घोषणा ग्राण्ड फिनाले कार्यक्रममा गरिनेछ । यस वर्षको छनौट प्रक्रिया तथा जु्री मिटिङहरुरू भर्चुअल रूपमा सञ्चालन हुने आयोजकले बताएको छ ।

सन् २०१६ देखि शुरू भएको आइसिटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको छ । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, जिनस सोलुसन, इमिनेन्स वेज लगायतका संस्थाहरूको सहयोग रहेको छ ।