एजेन्सी – अष्ट्रेलियन पूर्वखेलाडी तथा चर्चित क्रिकेट कमेन्टेटर डिन जोन्सको निधन भएको छ । ५९ वर्षीय जोन्सको बिहीबार भारतको मुम्बईमा हृदयघातका कारण निधन भएको हो ।


ADVERTISEMENT


उनी युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को ब्रोडकास्टर स्टारस्पोर्टस्को लागि कमेन्टेटरका रुपमा आवद्ध थिए । सोही क्रममा उनी मुम्बईमा रहेका थिए ।


ADVERTISEMENT

# # #


सन् १९९४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुअघि जोन्सले अष्ट्रेलियाका लागि ५२ टेस्टमा ११ शतक र १४ अर्धशतकसहित ३ हजार ६३१ रन बनाएका थिए । यस्तै उनले १६४ एकदिवसीय खेलमा ७ शतक र ४६ अर्धशतकको मदतमा ६ हजार ६८ रन बनाएका थिए । सन् १९८७ मा अष्ट्रेलियाले एकदिवसीय विश्वकप जित्दा उनी पनि टिमका सदस्य थिए ।

सन्यासपछि उनी अफगानिस्तानका लागि अन्तरिम मुख्य प्रशिक्षक तथा पाकिस्तान सुपरलिग जस्ता केही फ्रेन्चाइज्ड लिगहरुमा प्रशिक्षकका रुपमा काम गरेका थिए । तर, उनी क्रिकेट खेलाडीसँगै एक उत्कृष्ट कमेन्टेटरका रुपमा चिनिन्छन् । उनले क्रिकेट विश्वकप देखि आइपीएलसम्मका खेलहरुमा कमेन्ट्री गरिसकेका छन् ।

खासगरी युनिक स्वर र कमेन्ट्री गर्दा देखाउने उत्साहपनका कारण उनी विश्वभर लाखौँ क्रिकेट समर्थकका बीच निकै लोकप्रिय थिए । जोन्सको मृत्युपछि क्रिकेट खेलाडी तथा समर्थकले दुःख व्यक्त गरेका छन् ।