– सुरेश देबा,

  अन्तर्राष्ट्रिय बडी विल्डर, सेलिब्रेटी फिटनेस ट्रेनर

अहिले के मा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT


विद्यार्थीहरुमाझ अनलाइन कक्षा चलाइरहेका छौँ । खेल क्षेत्रमा आउन चाहनेलाई सहयोग गरिरहेका छौँ । कोरोना महामारीपछि विश्वले फिटनेसको आवश्यकता अझ राम्रोसँग बुझेको छ, डब्लूएचओले पनि यस्ता विभिन्न भाइरससँग लड्न फिटनेस आवश्यक रहेको बताएको छ । जसकारण पनि यसको आवश्यकता महशुस गरेर ब्लग, सामाजिक सञ्जाल, युट्युब र अनलाइन भर्चुअल कक्षा आदिको माध्यमबाट रोग प्रतिरोधात्मक शक्ति बढाउन आवश्यक फिटनेशको बारेमा जानकारी दिइरहेका र्छाैँ ।


ADVERTISEMENT

# # #


फिटनेस भनेको फलाम उचाल्नु मात्र होइन, बडी विल्डिङ मात्र होइन भन्ने बुझ्न जरुरी छ । फिटनेससम्बन्धि मानसिकता बदल्न जरुरी देखिन्छ । बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई स्वस्थ जीवनका लागि फिटनेस आवश्यक छ ।

पुरानो पुस्ता काम र व्यवसायमा मात्र व्यस्त हुने गरेकोमा नयाँ पुस्ताले विस्तारै फिटनेस पनि जरुरी छ भन्ने बुझ्नुपर्छ । कामसँगै शरीर पनि स्वस्थ हुनुपर्छ । कमाएर मात्र हुँदैन, स्वास्थ्य पनि स्वस्थ हुनुपर्छ भन्ने मानसिकता बनेको छ । दिनमा कम्तिमा एक घण्टा स्वास्थ्यलाई समय दिन जरुरी छ । स्वास्थ्य राम्रो भयो भने मात्र अन्य कुरामा पनि सफलता हाँसिल गर्न सकिन्छ । अहिले युवापुस्ता, कर्पोरेट व्यक्तिहरु हामीसँग जोडिएका छन् ।

यो क्षेत्रमा कसरी आउनुभयो ? कुन कुन अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभयो ?

यो क्षेत्रमा आउने सबै खेलाडीहरु आफ्नो ठाउँबाट विभिन्न दुःख गरेरै आएका हुन्छन् । अन्य खेलमा क्षमता छ र खेलको बारेमा जानकारी छ भने खेलमा जोडिऊँ न भन्ने पनि हुनसक्छ । तर फिटनेसमा त्यस्तो हुँदैन ।

फिटनेसमा ठूलो तपस्या चाहिन्छ, स्टेजसम्म पुग्न लामो अभ्यास पछि मात्र सकिन्छ । यो क्षेत्रमा फिटनेस शुरु गरेको ८/१० वर्षपछि मात्र ट्रेनिङमा जान सकिन्छ ।

शारीरिक, मानसिक तथा आर्थिक रुपले पूर्ण तयार भएपछि उपयुक्त गाइडलाइन छ भने मात्र स्टेजमा पुग्न सकिन्छ । यो क्षेत्रमा कसैसँग प्रभावित भएर आउने भन्ने एकदमै कम हुन्छ ।

सामान्य आकर्षण त भइहाल्छ, तर बुझ्दै जाँदा यो क्षेत्र आकर्षण भन्दा पर जरुरी क्षेत्रभित्र पर्ने बुझिन्छ ।

मेरो कुरा गर्नुपर्दा फिल्म हेर्दा हलिउड स्टारको सुगठित शरीरसँग एक प्रकारको आकर्षण थियो । वैदेशिक रोजगारीमा बस्दा मैले फिटनेसको बारेमा धेरै कुरा सिक्ने अवसर पाएँ । लेबनानबाट लेभल ४ को क्लास सकेँ । २०१५ मा पहिलोपटक नेपाल च्याम्पियन जितेँ । धेरै ठाउँमा सहभागी भइयो, यो क्षेत्रमा टप १० भित्र पर्नुपनि धेरै ठूलो कुरा हुन्थ्यो, कतिपय ठाउँमा टप थ्रीसम्म आइपुगेँ ।

अहिलेसम्म अन्तरराष्ट्रिय मेडल लिन नसकेपनि २०७५ मा नेशनल च्याम्पियन बनेँ । ओलम्पियन अन म्याचुअल एशिया, साउथ एशियन गेम, ओलिम्पिया इन म्याचुअल इन्डिया लगायतका धेरै प्रतियोगितामा सहभागी भएँ । २०१९ को नोभेम्बरमा दुबईमा वेल च्याम्पियन प्रतियोगिता भएको थियो । जसमा ५२ देशका खेलाडी हुनुहुन्थ्यो, म टप १० मा पुगेँ ।

२०२० जुलाईमा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी थियो तर कोभिडका कारण त्यो हुन सकेन ।

अहिले यो क्षेत्रमा कसरी काम गरिरहनुभएको छ ?

कोभिडपछि अनलाइन ट्रेनिङ दिने काम गरिरहेको छु ।

कतिपयलाई यो क्षेत्रमा के स्कोप छ र भन्ने पनि हुन्छ । पारिवारिक व्यवसायमा पनि आवद्ध भइरहेको भएपनि म अहिले धेरै समय चाहिँ फिटनेस क्षेत्रलाई नै दिइरहेको छु ।

विभिन्न सेलिब्रेटी, कर्पोरेट व्यक्तिहरु, राजनीतिज्ञ, पत्रकारदेखि नेपालका ठूला सुपर स्टारहरुसम्म हामी जोडिएका छौं ।

खासमा फिटनेस के हो?

फिटनेस जिन्दगी जिउनका लागि अत्यावश्यक चीज हो, बाँच्ने प्रमुख आधार हो ।

यो प्रत्यक्ष रुपमा हाम्रो जीवनशैलीसँग जोडिएको हुन्छ । व्यक्तित्व विकाशका लागि पहिलो शर्त फिटनेस नै हो ।

अहिलेको पुस्ताको पहिलो मान्यता नै पर्सनालिटी डेभलपेमेन्ट हो, फिटनेसले त्यो काम गर्छ ।

फिटनेसका लागि के के कुरामा ध्यान दिने ?

फिटनेस अनुशासन पनि हो । जीवनमा सफलताका लागि अनुशासनको महत्व उत्तिकै हुन्छ । फिटनेस शुरु गरेपछि अल्कोहोलिक, ड्रगिस्ट लगायतमा लागेकाहरु कुलतबाट धेरै पर जान्छन् । तनावबाट छुट्कारा पाउँन सकिन्छ । फिटनेसमा लागेपछि दैनिक तालिका बन्छ र सोहीअरुसार मान्छेहरु आफूलाई अभ्यस्त गर्छन् । यसले अनुशासनमा बाँध्दछ ।

तस्विर : गोपाल वैद्य ।

फिटनेसलाई शुरु गर्न चाहनेहरुलाई कस्तो टिप्स दिनुहुन्छ ?

फिटनेस शुरु गर्न चाहनुभएको छ भने ढिला नगरी आजैबाट शुरु गर्ने सुझाव दिन्छु । मैले मेरो ब्लग र युट्युबमा आफ्नो नम्बर पनि राखेको छु, नयाँका लागि म जतिवेला तयार हुन्छु । युट्युबहरुतिर हेरेर पनि शुरु गर्न सकिन्छ । फिटनेसमा जोडिनका लागि आफूमा परिवर्तन ल्याइ शुरुवातका लागि तयार भइहाल्नुपर्छ । शरीर, मन, ध्यान, सोचाइ, विचार काम सबै एकअर्कासँग सम्बन्धित छन् । लामो समयदेखि यही क्षेत्रमा काउन्सिलिङ गर्दै आइरहेकाले सबैभन्दा पहिले त फिटनेस ‘ज्वाईन’ हुन चाहने मान्छे कुन देशबाट आएको हो, कुन पेशामा आवद्ध छ, किन फिटनेसका लागि जोडिन खोज्दैछ भन्ने बुझ्दछौँ । त्यसपछि मात्र सोही अनुसार फिटनेस कक्षा शुरु गर्छौँ । त्यसैगरी फिटनेसमा आउन खोज्नेले सबैभन्दा पहिले किन जोडिन खोजेको भन्ने बुझ्नुपर्छ ।

जीवनमा सफल हुन फिटनेस आवश्यक छ ?

एकदमै । यसले एउटा ट्र्याकमा बाँध्ने काम गर्छ । उमेर बढी भयो भनेर कतिपयले फिटनेसका क्रियाकलाप नगरेको पनि देखिन्छ । तर यो सबै उमेरका लागि उत्तिकै आवश्यक छ । तरिका फरक हुनसक्छ । शारीरिक तथा मानसिक रुपले स्वस्थ हुनका लागि यसले मद्दत गर्ने भएकाले बिना शर्त दिनमा केही समय फिटनेसमा समय दिन जरुरी हुन्छ ।