एजेन्सी – यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले ७७ वर्षीय अमेरिकी कवि ग्लुकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।


ADVERTISEMENT


कवि ग्लुकले साहित्यमार्फत ‘काव्यात्मक आवाजमार्फत सुन्दर ढंगले व्यक्तिगत अस्तित्वलाई सर्वव्यापी बनाउन’ भूमिका खेलेको भन्दै यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको स्विडिस एकेडेमीले जनाएको छ । उनी नोबेल साहित्य पुस्कार जित्ने १६ औँ महिला बनेकी छन् ।


ADVERTISEMENT

# # #


उनले १० मिलियन स्वीडिस क्रोनर अर्थात् झण्डै १३ करोड २० लाख नेपाली रुपैयाँका साथै स्वर्ण पदक समेत पाउनेछिन् ।

को हुन् ग्लुक ? 

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लुक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन् । सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरुले पनि प्रशंसा गरेका थिए । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् ।

ग्लुकले पुत्लिजर पुरस्कार (१९९३), नेसनल ह्युम्यानिटिज अवार्ड (२०१५) लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् । उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका १२ वटा कवितासंग्रह तथा अन्य पुस्तक प्रकाशित छन् ।

स्वीडीस वैज्ञानिक अल्फ्रेड नोवेलको स्मृतिमा १२४ वर्षअघि स्थापना भएको नोवेल पुस्कार प्रत्यक वर्ष शान्ति, चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अर्थशास्त्र गरी ६ वटा विधामा दिइने गरिन्छ ।

गत वर्षको नोबेल साहित्य पुरस्कार अस्ट्रियाका लेखक पिटर ह्यान्ड्केलाई दिइएको थियो । साहित्यमा पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फतको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ९ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।