सर्लाही- जिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरुआत गरेको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्र्यालय हरिवन र इलाका प्रशासन कार्र्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम शुरु गरेका हुन् ।


ADVERTISEMENT


कोरोना महामारी केही सहज भए पनि सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड बढेको भन्दै टोकन प्रणालीमा काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपिका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।


ADVERTISEMENT

# # #


नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताए । उनका अनुसार इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि टोकन प्रणालीको शुरु गरिएको छ ।

देशकै सबैभन्दा धेरै स्थानीय निकाय रहेको सर्लाहीमा नागरिकताबाहेक अन्य सेवा पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको प्रजिअ पौडेलले बताए। हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाले नागरिकलाई पूरै सेवा प्रवाह गर्दै आएका छन् ।

इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाले जिल्लाका छ वटा स्थानीय निकायका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ भने बाँकी रहेको १४ वटा स्थानीय निकायका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक करिब १२० वटा र इलाका प्रशासन कार्यालय बरहथवा र हरिवनले दैनिक ४५–६० वटा नागरिकता वितरण गरिरहेका छन् ।

इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले पाँच महिना बढी खप्टिएको काम अहिले आएर एकैपटक गर्नुपर्दा अत्यधिक चाप रहेको बताउनुभयो । केही सातादेखि इलाका प्रशासन कार्यालय हरिवनमा प्रमुख नहुँदा हरिवनबाट वितरण हुने नागरिकता पनि बरहथवाबाटै हस्ताक्षर गराएर काम गरिरहेको इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रायले बताए। रासस