रुपन्देही – चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना रोक्न प्रहरीसँगको समन्वयमा सुरक्षा योजना बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT


प्रशासनले दशैँका समयमा सार्वजनिकस्थानमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्न, नाचगान गर्न तथा भीडभाड गर्न रोक लगाएको प्रजिअ घिमिरेले बताए । जिल्ला प्रशासनले पर्व विशेष धार्मिक क्रियाकलाप गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम अझ बढ्ने खतरा रहेकाले दैनिक नित्य पूजा बाहेक धार्मिक सांस्कृतिक क्रियाकलाप गर्न रोक लगाएको छ ।


ADVERTISEMENT

# # #


चाडपर्वको समयमा यात्रा गर्दा यात्रु ठगिन नपरोस् भन्ने उद्देश्यले प्रहरीसँगको समन्वयमा बसपार्क तथा सीमा नाकामा हेल्प डेस्क राखिएको छ । चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले पनि सुरक्षा सतर्कता बढाएको जनाएको छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले प्रदेशको शान्ति सुरक्षाका लागि सबै जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाएको जानकारी दिए ।

प्रहरीले जिल्लाका होटलको अनुगमन गर्ने, १२ जिल्लाकै मुख्य शहरमा यात्रु हेल्पडेस्क स्थापना, कोभिड–१९ सुरक्षा मापदण्ड लागू भए नभएको अनुगमन, चाडपर्वमा दुर्घटना बढी हुने भएकाले मुख्य राजमार्गमा सुरक्षा जाँच गर्ने काम शुरु गरेको प्रवक्ता बैदवारले बताए । दशैँ तिहारका समयमा खेलिने जुवातास नियन्त्रण पटका पड्काउन नदिन र लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभित्र हुनसक्ने चोरी, डकैती, अपराधलगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत राजमार्गमा जाँच एम्बुस जाँच, डग स्न्यापिङ, विशेष टोली सादा पोशाकमा प्रहरी परिचालन, आकस्मिक जाँच, मोबाइल गस्ती, पैदलगस्ती, सिसिटिभी निगरानी, स्कटिङलगायतबाट सुरक्षा अवस्था निगरानी गरिने छ ।

कालोबजारी गर्ने कारवाहीमा

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पछिल्लोपटक कालोबजारी गरी उपभोक्ता ठगी गर्ने व्यापारी धमाधम कारवाहीमा पर्न थालेका छन् । उपभोक्ता हित संरक्षण ऐन २०७५ ले कालोबजारी, महँगी, कृत्रिम अभाव गर्ने व्यापारीलाई जरिवाना गर्नेसम्मको कारवाहीको अधिकार दिएपछि यहाँका व्यापारी कारवाहीमा परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले अनियन्त्रित बजार नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता ठगी गर्ने व्यापारीलाई धमाधम कारवाही गरिरहेको छ ।

पछिल्लोपटक भारतबाट ल्याएर अवैध रुपमा लुकाइछिपाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने प्रतापपुर गाउँपालिका–२ गोपिगञ्जका दुई व्यापारी कारवाहीमा परेका हुन् । भारतीय बजारबाट वस्तु आयात गरी बिलबिनै अखाद्य वस्तु बिक्री गरिरहेको गुनासो आएपछि सहायक प्रजिअ माझीको नेतृत्वमा गएको अनुगमन टोलीले गोपिगञ्जस्थित दोस्ती पान तथा किराना पसललाई रु दुई लाख जरिवाना गरेको छ ।

अनुगमन समितिलाई बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ देखाउन तथा गोदाम पनि निरीक्षण गर्न नदिएपछि लुकाएर राखेको सुर्तीजन्य पदार्थ जफत गरी रु दुई लाख जरिवाना गरिएको निरीक्षण अधिकृत एवं सहायक प्रजिअ माझीले जानकारी दिए । लेबलबिनै उत्पादित वस्तु बजारमा पठाएको पाइएपछि बर्दघाट नगरपालिका–१२ चौपत्ताको सूर्य मसला उद्योगलाई सिल गरिएको अनुगमन टोलीका सदस्य लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका अधिकृत नारायण न्यौपानेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, प्रतापपुर गाउँपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले गोपिगञ्जमा रहेका खाद्यान्न, किराना, फेन्सी, हार्डवेयर, एग्रोभेट, पान पसललगायत १० वटा फार्ममा अनुगमन गरेको थियो ।

केही दिनअघि पनि कालोबजारी गरी प्याज बेच्ने व्यापारीलाई कारवाही गरिएको थियो । अत्यधिक मूल्य वृद्धि गरी प्याज बिक्री गरिरहेका सदरमुकाम परासीका पाँच व्यापारीलाई रु ६० हजारका दरले जरिवाना तिराएपछि प्रति केजी रु १२० देखि रु १३० मा बिक्री हुँदै आएको प्याजको मूल्य घटेर अहिले रु ८० मा झरेको छ ।

आत्महत्या न्यूनीकरणमा प्रदेश प्रहरीको अभियान

पछिल्लो समय आत्महत्याको दर बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रदेश प्रहरी सक्रिय बन्दै गएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार वर्षेनी आत्महत्याको दर बढिरहेको भन्दै न्यूनीकरण गर्न अभियान चलाएको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ मा पुरुष ५९९ र महिला ४९२ गरी जम्मा एक हजार ९१ जना, आव २०७५/७६ मा पुरुष ५९१ र महिला ३३७ गरी जम्मा एक हजार १२८ ले आत्महत्या गरेका थिए । गएको आव २०७६/७७ मा पुरुष ७१७ र महिला ५१९ गरी जम्मा एक हजार २३६ ले आत्महत्या गरेको उनको भनाइ थियो । जुन अघिल्लो आवभन्दा ९.५७ प्रतिशतले बढी हो । चालु आव २०७७/७८ को दुई महिनामा पुरुष १७७ र महिला १११ गरी जम्मा २८८ जनाले आत्महत्या गरेको देखिन्छ । प्रदेशभित्रका सबै टोल–टोलमा पुगेर प्रहरीले सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दामा बालिकाको सङ्ख्या धेरै

प्यूठानमा हुने जबरर्जस्ती करणीका मुद्दामा बालिकाहरु धेरै पीडित रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार बालिकाहरुमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता हुने सङ्ख्या वृद्धि भएको हो ।

चालु आवको साउन महिनायता जिल्ला प्रहरीमा परेका छ वटा जबरजस्ती करणीका मुद्दामध्ये पाँच जना बालिकामाथि भएको जबरर्जस्ती करणीको मुद्दा दर्ता भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए । आव २०७६/७७ मा १८ वटा मुद्दा दर्ता भएकामा १२ जना बालिका रहेका थिए । आव २०७५/७६ मा पनि १८ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएकामा बालिकामाथि जबरजस्ती करणीका मुद्दा सात वटा थिए ।

प्रायः घटनामा चिनेजानेका तथा आफन्तबाट नै भएको देखिएको सूचना अधिकारी ढकालले बताए । हालको परिस्थितिमा धेरैजसो व्यक्तिसँग स्मार्ट फोन रहेको हुँदा सामाजिक सञ्जालमा अश्लिल भिडियो हेरी घटनामा संलग्न हुने गरेको उनको भनाइ छ । रासस