काठमाडौं । कोरोनाकालका बीच हिन्दू नेपालीको महान् पर्व बडादशैँको मुख्य दिन आउनैलाग्दा उपत्यकाका अघिल्लो महिनाको तुलनामा व्यापारिक चहलपहल केही बढे पनि सोचेअनुसारका उपभोक्ता बजारमा पुग्न सकेका छैनन् ।


ADVERTISEMENT


व्यवसायीका अनुसार आधाभन्दा बढी व्यापारमा मन्दी आएको दुखेसो गर्छन् । “कोरोनाका कारण धेरै मानिस उपत्यका भित्रिन सकेका छैनन्, आएकाहरु पनि सकेसम्म बजार जान खोज्दैनन्, असनका मसला व्यापारी लोकेश लामाले भने, “बाध्यताले बजार आउने न्यून छन् ।”


ADVERTISEMENT

# # #


काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड यहाँको मुख्य व्यापारिक केन्द्र हो । कात्तिक लागेपछि व्यापारिक केन्द्रमा मानिसको चहलपहल बढेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । त्यसैले अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । तर खरिद बिक्री भने कम रहेको स्वयं व्यापारीको भनाइ छ । “बजारमा हिँड्ने मान्छे त बढे तर किन्ने बढेनन्”, लामाले थपे ।

व्यापारिक क्षेत्रमा सम्भावित घटना हुन नदिन आवश्यक मात्रामा सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउछन् । आवश्यक सुरक्षा योजनासमेत लागू गरिएको छ । सुरक्षा मापदण्ड प्रयोग गरेर आउँदा सामान खरिद बिक्रीमा समस्या नरहेको प्रहरीले जनाएको छ, तर पनि चहलपहल कम नै छ ।

उपत्यकाको सडकमा समेत मानिसको आवागमन निकै कम देखिएको छ । सवारीहरु जोरबिजोर प्रणालीमा प्रयोग गरिएकाले धेरै बाक्लो छैन । विगतको स्मरण गर्ने हो भने चाडबाडको मुखमा नेपालका मुख्य व्यापारिक केन्द्र यतिबेला मानिसको थेगिनसक्नु भीड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । भीडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो ।

नेपालमा गत माघदेखि कोभिड–१९ देखिएको थियो । चैत ११ पछि झण्डै चार महिना बन्दाबन्दी र त्यसपछि निषेधाज्ञा जारी गरेर नियन्त्रणको प्रयास गरिएको थियो । जसका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि पर्न गएको छ । यद्यपि सरकारले व्यवसाय चलायमान बनाउन आवश्यक सुरक्षा मापदण्डको प्रयोग गरी गतिविधि खुला गरेको छ । अझ धेरै चहलपहल हुने सिनेमाहलजस्ता व्यापारिक केन्द्र खुलेका छैनन् ।

मछेन्द्रबहालका अर्का व्यवसायी विवेक तिमिल्सिना कात्तिक लागेपछि केही चहलपहल भएको तर सोचेअनुसारको व्यापार नरहेको प्रतिक्रिया दिनुहुन्छ । व्यापारीहरु भूकम्प आउँदासमेत यस्तो मन्दी नभएको अनुभव सुनाउँछन् । यसपटक इतिहासकै व्यापारिक मन्दी भएको उनीहरुको बुझाइ छ ।

उपत्यकाको मात्रै होइन, जिल्लाका व्यापारिक केन्द्रमा पनि सोचेअनुसारको चहलपहल हुनसकेको छैन । जसका कारण भाडामा बस्ने व्यवसायीले थप क्षति व्यहोर्नुपरेको छ । भाडा तिर्न नै समसया हुने गरेको व्यवसायी लामा बताउनुहुन्छ ।