काठमाडौँ – भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ  आइपुगेका छन् । यो नियमित भ्रमण भएपनि सिमा विवादका कारण दुई देशबीचको चिसोपनाका कारण भ्रमण रोकिएको थियो । नेपाल भ्रमणका क्रममा नरवणेको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटको कार्यक्रम रहेको छ ।


ADVERTISEMENT


अघिल्लो वर्ष नोभेम्बरमा भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको विवाद बढेको थियो । भारतले नक्सा जारी गरेपछि नेपालले वार्ताको प्रस्ताव गरेपनि भारत वार्ताका लागि तयार भएको थिएन । बरु भारतले त्यही समयमा विवाद बढाउने गरी भारतीय रक्षामन्त्री राजनाथ सिँहद्धारा लिपुलेकदेखि मानसरोवर जाने बाटोको उद्घाटन गराएको थियो ।


ADVERTISEMENT

# # #


संवादका लागि तीन पटक कुटनीतिक नोट पठाउँदा पनि भारतले बेवास्ता गरेपछि नेपालले जवाफस्वरुप कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरि संविधान समेत संशोधन गरेको थियो ।

नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै बलाधिकृत रथी प्रभुराम शर्मा । तस्बिर : नेपाली सेना

भारतीय सेनापतिद्धारा हुने नियमित भ्रमण सिमा विवादकै कारण रोकिएकोमा यही बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयललाई दूतका रुपमा नेपाल पठाएका थिए । प्रधानमन्त्री ओलीले गोयलसँग गरेको वार्तापछि सेनापतिको भ्रमणको साइत जुरेको हो ।

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको बेला प्रहरीले चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।

रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरभानेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्नेछन् । साथै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा भारतीय सेनापति नरवणेको प्रधानमन्त्री ओलीसँगको भेटघाटलाई महत्वपूर्ण मानिएको छ । यस भेटवार्ताले सिमा विवादलाई निकास दिन महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।