गोरखा – गैह्र आवासिय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण भइरहेकोे एकिकृत नमूना बस्तीका घरमा प्रयोग भएका झ्याल–ढोका कमसल भएको पाइएको छ ।


ADVERTISEMENT


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रामप्रसाद सापकोटासहितको इन्जिनियरको टोलीले आज गरेको एकिकृत नमूनाको अनुगमन तथा निरीक्षणका नमूना बस्तीका घरमा प्रयोग भएका झ्याल–ढोका कमजोर र कमसल खालको प्रयोग भएको पाइएको हो ।


ADVERTISEMENT

# # #


प्राधिकरण, गाउँपालिका, स्थानीय सरोकारवाला तथा स्थानीयबासीसमेतको सहभागितामा एनआरएनले निर्माण गरिरहेको लाप्राक एकिृकत नमूनाबस्तीको अनुगमन तथा निरीक्षणका क्रममा बस्तीका घरमा प्रयोग भएको झ्याल–ढोका र बस्ती निर्माणका क्रममा तयार पारिएका नमूना घरमा प्रयोग गरिएको झ्याल–ढोकाको गुणस्तर फरक रहेको पाइएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए।

उहाँले अनुगमनपछि प्राधिकरणसहितको सरोकारवालाको संयुक्त बैठकले झ्याल–ढोकामा कम गुणस्तरका सामग्री प्रयोग भएका बारे प्राधिकरणमार्फत एनआरएनएलाई सहजीकरणका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको जानकारी दिए । एकिकृत बस्ती निर्माण गर्दा पुनःनिर्माण प्राधिकरणको कार्यविधि एवं मापदण्डअनुसार प्रत्येक घरमा रु चार लाखको दरले प्राप्त हुनुपर्ने रकम अहिलेसम्म प्राप्त नभएको भन्दै पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गर्न प्राधिकरणलाई आग्रह गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

एकिकृत बस्ती निर्माणको कार्य शुरु भएको चार वर्ष बितिसक्दा पनि अझै सम्पन्न नभएको भन्दै निर्माणका क्रममा बाँकी रहेका समस्यालाई प्राधिकरण, गैह्र आवासिय नेपाली सङ्घ, स्थानीय तह, स्थानीयवासीले आ–आफ्नो ठाउँबाट पहल र प्रयास गरी छिटो काम सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्णयसमेत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । रासस