जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ ।


ADVERTISEMENT


लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पोख्नुभयो । “पहाडमा तुइन तरे झैँ हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको रु २०० तिनुपर्छ ।”


ADVERTISEMENT

# # #


लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । “हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २०० तिरेर त जान सकिन्छ”, रानाले भन्नुभयो, “बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।”

यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदा नदीमा पक्की पुलको निमार्णमा भइरहेको ढिलासुस्तीका कारण झन समस्या भएको स्थानीयवासीको गुनासो छ । “बन्दाबन्दीले दैनिकी उत्तिकै अस्तव्यस्त बनेको छ”, रानाले भन्नुभयो, “मजदुरीका लागि घर छोड्न लाग्दा पनि शुल्क तिनुपर्ने अवस्था आउँछ ।”

दोदा नदीमा वारपार गर्न साइकलको रु २० र मोटरसाइकलको रु २०० तिर्नुपर्छ । गाउँपालिकाको पहुँच सार्वजनिक यातायातसित अझै जोडिएको छैन । स्थानीय रामसाहेब रानाले गाउँमा बिरामी परेर एम्बुलेन्स बोलाउनु पर्दा निकै हैरानी हुने गरेको बताउनुभयो । “रातिको समयमा कसैलाई अस्पताल लैजानु पर्यो भने निकै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सडक सञ्जाल र पुलहरु नबन्दा पैसा तिरेर पनि सुविधा पाइरहेका छैनौँ ।”

त्यसैगरी लालझाडी–४ का भजना राना पनि बर्खामा आवागमन नै बन्द हुने गरेको बताउनुहुन्छ । “नदी पारपार गर्ने क्रममा विगतमा दुई÷तीन स्थानीयवासीले ज्यानसमेत गुमाइसके”, उहाँले भन्नुभयो, “वारि घर पारि खेत हुनेको पनि समस्या नै छ ।”

ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल अलपत्र छ । स्थानीय युवाले ट्युब सञ्चालनमा ल्याएर नदी तार्ने काम गर्दै आएका छन् । पक्की पुलको तीन पिलर मात्रै निर्माण भएको तर निमार्ण कार्य भने अझै अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि २०७२ पुसमा रु २४ करोड ५३ लाखमा निर्माण सम्झौता भए पनि पुलको आधा काम पनि भएको छैन ।