काठमाडौं — कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ ।


ADVERTISEMENT


विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब १.४ करोड रहेको छ । यस साझेदारी अन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने छ ।


ADVERTISEMENT

# # #


यो दोस्रो चरणको सामग्री वितरण अभियान माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा शुरुवात गरिएको हो ।

मन्त्री ढकालले प्रत्येक प्रदेशमा रहेका ठुला अस्पतालमा भेन्टीलेटरको व्यवस्था गर्ने योजना अनुसार कोकाकोलासँगको साझेदारीमा रेडक्रसले प्रदान गरेको भेन्टीलेटरहरु सातै प्रदेशमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । सरकारले ल्याएको स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाईमा सहज हुने अपेक्षा राख्दै हस्तान्तरण समारोहमा मन्त्री ढकालले भने, “विभिन्न अभावहरुका विच महामारीसँग लड्नु पर्ने हाम्रो बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय रहेको छ ।”

सोहि अवसरमा नेरेसो र कोका—कोलाबाट उपलब्ध गराईएको सामग्रीहरु मन्त्री ढकालले सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णिकारलाई हस्तान्तरण गरेका छन् । नेपाल रेडक्रसका कार्यबाहाक अध्यक्ष सर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोका—कोलाका तर्फबाट कन्ट्री पीएसीएस म्यानेजर इरिना कार्की तथा ह्युमन रिसोर्स् डाइरेक्टर हरि शर्मा न्यौपानेको उपस्थिति रहेको थियो ।

आज हस्तान्तरण गरिएका सामग्रीमा १०० थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क २०० वटा रहेका छन् ।

त्यसैगरी आगामी दुईहप्ता भित्र सात प्रदेशका तोकिएका अस्गतालहरुमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान शुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० वटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने छ । उक्त सामग्रीहरु कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।

“नेपालले कोभिड—१९ समाहित गर्न संघर्ष गरिरहेको छ, हामीले यो सुनिश्चित गर्नुपर्छ कि सरकारलाई पर्याप्त सहयोग प्रदान गरिएको छ । नेपाल रेडक्रससँग कोका—कोलाको साझेदारीले अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री र विरामीहरूको उपचारको लागि भेन्टिलेटरहरू प्रदान गर्दछ”, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ।

यस्तै नेपाल रेडक्रसकी का.बा.अध्यक्ष सर्मिला कार्कीले नेपाल रेडक्रस र कोका—कोला नेपालको यो साझेदारी कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न तथा अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुलाई संरक्षण गर्ने एउटा प्रयास रहेको बताइन् ।

हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोभिड रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकार तथा अन्य सरोकारवालासँगको समन्वयमा काम गरिरहेको बताउँदै कोकाकोलासँगको साझेदारीमा पनि अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी र कोभिड उपचारको सेवा लिन आउने मानिसहरुलाई सेवा पुर्याउने खालका सामाग्री सहयोग गरिएको बताए ।