म्याग्दी – वीरगञ्ज स्थायी घर भएका विजयकुमार साह १५ वर्षदेखि बेनीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । विगत वर्षमा पूर्वीतराईमा बसोबास गर्ने नेपालीले विशेष महत्वका साथ मनाउने छठका लागि साह परिवारसहित तिहारअघि नै जन्मथलो जान्थे ।


ADVERTISEMENT


यसपालि कोरोना महामारीका कारण साहले बेनीमै छठ पर्व मनाउँदै छन् । “कोरोनाको जोखिमले गर्दा छठ मनाउन घर जान पाइएन”, उनले भने, “आफ्नो संस्कार र संस्कृति छोड्नु हुन्न भनेर बेनीमै छठ मनाउन लागेका छौँ ।” साहलगायत यहाँ बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक छठ पर्व मनाएका हुन् ।


ADVERTISEMENT

# # #


करिब दुई दशकदेखि बेनीमा व्यवसाय गर्दै आएका भारतको बिहारका सुकन साहले म्याग्दीमा पहिलो पटक छठ मनाइएको बताए । म्याग्दीलाई २०७५ माघमा नेपालको २१ औँ हिमाली जिल्लामा सूचीकृत गरिएको थियो । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पूजाआजा र नदीमा वर्तालुले अर्घ्य दिएका छन् ।

सूर्यदेवको उपासना गरेर हरेक वर्षको कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । शुक्रबार साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ्य दिएकी सीमादेवी साहले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सकिने बताइन् ।

पिङ्कीदेवी साहले तीन दिनसम्म पानी पनि नखाई ब्रत बसेर छठ पर्व मनाएको बताइन् । छठको कठोर ब्रत बस्नाले चिताएको पूरा हुने विश्वास छ । शुद्ध बस्त्र लगाएर ब्रत बस्ने चलन छ । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरुले सूर्यलाई अघ्र्य चढाएका थिए ।

ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदीको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । छठ पूजा गरेको देखेर अनौठो मानेका थिए । आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाइरहेको सञ्जय साहले बताए । म्याग्दीका विभिन्न ठाउँमा करिब १०० जना तराईवासी र व्यवसायी रहेका छन् ।