चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र अग्निरेखा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस सँगसँगै घाँसे मैदानका लागि नियन्त्रित आगोसमेत लगाउन थालिएको छ ।


ADVERTISEMENT


निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार पूरै निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार अग्निरेखा निर्माण गरिन्छ । यकिन क्षेत्रफल थाहा नहुने भए पनि २५० किलोमिटरभन्दा बढी क्षेत्रमा अग्निरेखा निर्माण गरिने उनले बताए ।


ADVERTISEMENT

# # #


पाँच मिटरको हाराहारीको चौडाइमा रहेका घाँस पातपतिङ्गर हटाएर दुई क्षेत्रमा विभाजन गर्ने काम नै अग्निरेखा हो । जसले एकापट्टि क्षेत्रमा आगलागी हुँदा सो आगो अर्को क्षेत्रमा जान दिँदैन । जसले गर्दा एकातर्फ आगो लाग्दा वन्यजन्तु अर्कोतर्फ गएर बस्न र चर्न पाउने अर्यालले बताए । घाँसे मैदान व्यवस्थापन गर्नका लागि कतिपय ठाउँमा निकुञ्ज आफैले नियन्त्रित आगो लगाउँछ भने कतिपय क्षेत्रमा आफै आगो लाग्ने गर्दछ । अग्निरेखा निर्माण कार्य माघको पहिलो सातावाट सुरु गरिएकामा यो महिनाको मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निकुञ्जले राखेको छ ।

वन क्षेत्रको अवस्था हेरेर अग्निरेखा निर्माण गर्ने क्षेत्र तय गरिन्छ । एउटा अग्निरेखाबाट अर्को अग्निरेखाको दूरी वनको अवस्थामा निर्भर हुने उनले बताए।

नदी तटीय क्षेत्रमा जोखिम कम हुने हुँदा एउटाबाट अर्को अग्निरेखाको दूरी लामो हुन सक्छ भने साल र मिश्रित वनमा दूरी कम हुने अर्यालले जानकारी दिए । यद्यपि निकुञ्जको बीचमा खोलानाला भएको ठाउँमा अग्निरेखा जरुरत हुँदैन । राम्रो घाँसे मैदान निर्माणका लागि आगो लगाउनु अति आवश्यक हुन्छ ।

अग्निरेखा अन्तिम चरणमा पुग्दै गर्दा घाँसे मैदान व्यवस्थापनका लागि आगो लगाउने कार्य तीव्र गतिमा अघि बढेको निकुञ्जले जनाएको छ ।