नारायण ढुङ्गाना, चितवन – पर्या–पर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाँल्न सकिन्छ ।

बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो । गैँडा खेल्ने ‘रनवन’ नै बन्न पुगेको छ बाघमारा ।


ADVERTISEMENT

# # #


केही दिनअघि यहाँको सानो चौरमा काखमा केटो चेपेर माउ गैँडा लमतन्न परेर घाम तापिरहेकी थिई । हात्तीको खस्राकखुस्रुक आवाजले कान ठाडो पारेर हेरी । माहुतेको इसारामा हात्ती एक टकले उभियो । हात्तीमा सयर पर्यटकले मौन बसेर विभिन्न कोणका तस्बीर लिए, अनि गैँडासँग नजीकपनको अनुभूति सङ्गाले । आफू र केटोको सुरक्षा जोखिम नरहेको बुझेपछि माउ–बच्चा फेरि उही आसनमा लमतन्न परेर घाम ताप्नमा मग्न भए ।

अलि परको अर्को चौरमा एक भाले गैँडा एक सुरले चर्दै थियो । चित्तल र मृग आफ्नै धुनमा एकापसमा घाम ताप्दै, कुरा साट्दै र चर्दै गरेको भेटिए । राप्ती र बूढी राप्ती नदीको किनारको बालुवामा मगर र घडियाल गोही पार तापिरहेका दृश्यले लोभलाग्दो थियो । चराहरु पानीभित्र घुसेर माछा टिप्दै थिए । त्यो सबै दृश्यमा पर्यटक खुबै आनन्द लिन्थे र सके जति क्यामेरामा कैद गर्थे । त्यो देखेपछि काठमाडौँबाट गएका पर्यटक भन्दै थिए, “वाउ क्या मजा भयो ।”

वन्यजन्तुको राम्रो बासस्थान भएकाले बाघमारा पर्यटकको रोजाइमा पर्ने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका सचिव रामशरण सिलवालले बताए । “नजीकबाट गैँडा हेर्न पाइने भएकाले सौराहा आउने पर्यटक हात्ती सफारी गर्न मन पराउँछन्, बाघमारामा सफारी गर्दा अधिकांशले गैँडालगायत वन्यजन्तु देखेरै फर्किन्छन्, त्यसैले आकर्षण छ”, पर्यटन व्यवसायीसमेत रहेका सिलवालले भने ।

यहाँ वन्यजन्तुका लागि उचित वातावरण छ । ठाउँठाउँमा इनार खनेर पानी निकाली ताल बनाइएको छ । आहाल खेल्ने स्थान पर्याप्त छ । बर्सेनी घाँसेमैदान व्यवस्थापन गरेर वन्यजन्तुका लागि उचित वातावरण दिने प्रयास गरिएको वनका अध्यक्ष जीतु तामाङले बताए । बाघमारामा देशविदेशका आगन्तुक हात्ती सफारी गरेर वन्यजन्तु अवलोकनमा रमाउँछन् । पैदलै घुमेर र डुङ्गा सफारी गरेर वन्यजन्तुका गतिविधि नियाँल्न पाउनु यहाँको अर्को आकर्षण हो ।

प्रभावकारी संरक्षणका कारण विश्वकै दुर्लभ वन्यजन्तुको राम्रो बासस्थानको विकास भएको छ । बाघमारा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, चित्तल, भालु, गोही, चराचुरुङीका विभिन्न प्रजातिको क्रिडास्थल बन्न पुगेको छ । रात बिताउन मचान बनाइएकाले त्यहाँ बसेर पर्यटकले जङ्गल र वन्यजन्तुका गतिविधि हेर्दै मजा लिन्छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, स्थानीय समुदाय, पर्यटन व्यवसायी, चितवन राष्ट्रिय निकुञ्जको दशकौँको प्रयासले वन यहाँसम्म आइपुगेको हो । ताल–तलैया निर्माण, घाँसेमैदान व्यवस्थापन, वृक्षरोपण, तारबारलगायत कार्यक्रमले दशकअघिको सुक्खा क्षेत्र अहिले हरियाली बनेको हो । रूखबिरुवा हुर्कंदै जाँदा सुन्दरताले भरिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले समग्र मुलुकको आर्थिक क्षेत्र प्रभावित हुँदा पर्यटन क्षेत्र पनि जोगिएन । यद्यपि गएको दशैँबाट भने चहलपहल शुरु भएको सहकारीका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए। “हालसालै मात्र एकै दिन ३९ हात्ती सफारी भएको थियो, तिहारका बेला २६ सम्म गयो, बिस्तारै सफारी पर्यटनले गति लिन थालेको छ”, उनले स्मरण गरे

मध्यवर्ती र जैविक मार्गमा पर्ने कुमरोज, विसहजारी ताल क्षेत्र र निकुञ्जमा जीप सफारी पनि चल्छ । चरा अवलोकन, पैदल जङ्गल सफारी पनि हुन्छ । उक्त हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारीले भने, “चितवन सफारी पर्यटनका लागि विश्वमै प्रख्यात भएकाले यहाँ घुम्न पर्यटक लालायित हुने गरेका छन् ।”

यहाँका मध्यवर्ती क्षेत्रमा हात्तीसँगै डुङ्गा र जीप सफारी पनि चल्छ । हात्ती सफारीमा केही क्षेत्रबाट विरोध भइरहे पनि अझै पर्यटकको आकर्षण भने कम देखिँदैन । यद्यपि बाघमारामा मानवीय चाप भने बढी छ । व्यवसायीका अनुसार कोरोनाले हाललाई पर्यटकीय गतिविधि सञ्चालनमा समस्या पारिरहेको छ । आवश्यक सुरक्षा मापदण्ड अपनाइएकाले ढुक्कले घुम्न सक्ने क्षेत्रीय होटल सङ्घ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणि खनालले बताए । उनका अनुसार, सौराहामा घुम्ने, जङ्गल सफारी गरेर फर्कने पर्यटक बढी आइरहेका छन् । अब आवासीय पर्यटकको पर्खाइमा छन्, व्यवसायीहरु ।

सौराहामा १०० भन्दा बढी सुविधायुक्त होटेल तथा रेष्टुरेन्ट भएकाले पनि वन्यजन्तु अवलोकनपछि अन्य पर्यटकीय गतिविधिको मजा लिन सहज छ । राप्ती किनारबाट देखिने साँझको सूर्यास्त, थारू संस्कृति, रहनसहन तथा वेशभूषाले पनि पर्यटकलाई लोभ्याउँछ । थारू नाचमा पर्यटन रम्न पाउँछन् ।

यसरी शुरु भएको थियो पर्यापर्यटन

विसं २०५३ मा ‘बाघमारा मध्यवर्ती सामुदायिक वन’ घोषित भएको थियो । सोही बेला नै सामुदायिक वनमा पर्यटनको मार्ग खुला गरेको हो । शुरुशुरुमा वन हेरालुलाई तलब दिन नसकेकामा परिस्थिति फेरिएर त्यही वनको करोडौँको आम्दानीले पर्या–पर्यटन विकास, आयआर्जन, संरक्षण र अन्य भौतिक निर्माणमा सहयोग हुँदै आएको छ ।

पर्या–पर्यटन विकासबाट हुने आम्दानी नै बाघमारा सामुदायिक वनको मुख्य आम्दानीको स्रोत हो । भूमाफियाको चलखेल, काठ कटानी र फँडानीले तीन दशकअघि उजाड थियो, बाघमारा वन क्षेत्र । वन्यजन्तुहरु खेल्ने ठाउँ थिएन । नजिकै चितवन निकुञ्ज हरियाली हुँदा बाघमाराले आफ्नो सुन्दरता गुमाएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो वन निकुञ्ज तथा वरण्डाभार जैविकमार्गको वनसँग जोडिएको छ । राप्ती नदीले दक्षिणबाट र बूढी राप्ती नदी र खगेरी खोलाले उत्तर र पश्चिमबाट घेरिएको छ ।

यहाँ विसं २०१५ देखि नै संरक्षणको प्रयास गरिएको थियो । विसं २०२२ मा यस क्षेत्रलाई महेन्द्र मृगकुञ्जभित्र रेखाङ्कन गरेको पाइन्छ । विसं २०२६ सालमा नापी आएका बखत वन क्षेत्र भनी कायम गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अभिलेखमा उल्लेख छ । २०४० सालतिर स्थानीय जनताको सक्रियतामा वन उपभोक्ता समूह गठन गरी सामुदायिक वनका रुपमा विकास गर्ने कार्य भएको थियो । २०४२ सालतिर भूमाफियाले आफ्नो नाममा कयौँ जग्गा दर्ता गराएका थिए । त्यो बेला मुद्दा पनि परेको थियो । विसं २०४६ मा विश्वनाथ पौडेलको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता समिति गठन भएपछि वनको संरक्षणको कोशेढुङ्गा साबित बन्यो ।

त्यति बेला कोषले वृक्षरोपण, तारबार, घाँस पालन, तटबन्दलगायत कार्यक्रमका लागि सहयोग गरेको हालै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुखबाट निवृत्त हुनुभएका रामकुमार अर्यालले जानकारी दिए । विगतमा तत्कालीन राणा परिवार शिकार खेल्न आउँदा बाघ मारेर छाला सुकाउने गरेको हुँदा यसलाई बाघमारा भन्ने गरिएको एकथरीको भनाइ छ भने अर्काथरीले दुईवटा बाघ एकापसमा जुधेर मरेका कारणले त्यस बेलादेखि बाघमारा भन्न थालिएको भन्ने सुन्न पाइन्छ । रासस

प्रतिकृया

प्रतिकृया