चितवन– नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् ।


ADVERTISEMENT


विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३० मिनेट देखि २ घण्टा ३० मिनेटसम्ममा सडक पार गर्न सकेपछि खुशी पनि भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका ना१७च ५२३५ नंको कारका चालक सुवास गहतराजले एक घण्टा ३० मिनेटमा मुग्लिनबाट आँपटारी आइपुगेको बताए ।

भरतपुरको आँपटारीमा गहतराजको पछिपछि आएको बा२ख ५१७ नंको माइक्रोका चालक माइला महर्जनलाई यो सडक पार गर्न दुई घण्टा लाग्यो । त्यसको पछि पछि आइरहेको ना६ख २४१० नंको ट्रकका चालक पुनराम विकलाई मुग्लिनबाट नारायणगढसम्म आइपुग्न २ घण्टा ३० मिनेट लागेको बताए । उनीहरु सबै काठमाडौँबाट आएका हुन् । सबैको एउटै भनाइ थियो, ‘सडकको जाम त हट्यो खाल्डाखुल्डी पुर्नुपर्यो ।”

गत भदौ २७ गते भौतिक पूर्बाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङले सो सडकको निरीक्षण गरी चाडपर्वलाई लक्षित गरेर सडक सहज बनाउन निर्देशन दिएका थिए । साउन महिनाभित्र खाल्डा पुर्ने, सडक छेउमा खसेका पहिरो सफा गरी सडकमा सवारी आवागमन सहज बनाउन उनले निर्देशन पनि दिएका थिए ।

सोहि दिन राति सडकमा पहिरो खसेपछि मध्यरातसम्म सडक अवरुद्ध बनेको थियो । त्यस यता सडकमा पहिरो पनि खसेको छैन ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भदौ २७ गते यता सडकमा पहिरो खसेको छैन । त्यसको भोलिपल्टबाट रातमा समेत सडक सञ्चालनमा ल्याइएको छ । त्यसयता सडकका कारण यात्रुले कठिनाइ भोग्नु नपरेको खनालले बताए। दाशढुङ्गामा कालोपत्र गर्ने काम भइरहेको भए पनि सवारी आवागमनमा कुनै कठिनाइ नपरेको उनले बताए ।

खाल्डाखुल्डी पुर्ने काम भइरहेको भन्दै उनले धुलो उडेका ठाउँमा आठवटा ट्याङ्कर प्रयोग गरी पानी छर्कने काम पनि भइरहेको बताए । सो सडकको ३६ किमी क्षेत्र मध्ये हाल विस्तारमा रहेको ६ किलो ५०० मिटर सडकको पहिलो तह कालोपत्र भइसकेको छ । सडकको सबै स्थानमा दुईतर्फी आवागमन गर्न मिल्ने भएकाले यात्रुलाई दुःख कम भएको खनालले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढ मुग्लिन सडक पार गर्नुपर्ने यात्रुले डराउनुपर्ने अवस्था अहिले रहेको छैन । पहिरो खस्न सक्ने सम्भावना सडकमा रहे पनि तत्काल हटाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । सडकमा गाडी बिग्रिएमा किनारा लगाउन, जाम भएमा सहज बनाउन, रात र दिनमा सुरक्षा दिन प्रहरी परिचालन गरिएको छ भने केहि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा पनि राखिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

चाडपर्वका समयमा सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् । नारायण अधिकारी रासस