काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद नभई सरकार विघटन भएको दाबी गरेका छन् । मंगलबार बबरमहलमा आयोजित पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भए पनि संसद विघटन भइनसकेको जिकिर गरे ।


ADVERTISEMENT


‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’ मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भङ्ग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भंग भएको उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


कुनै पार्टी पनि विघटन मान्न तयार नभएको भन्दै प्रचण्डले अदालतबाट संसद पुनर्स्थपना हुने विश्वास व्यक्त गरे । प्रचण्डले आज बिहान अर्का अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटिको बैठकलाई नौटंकीको संज्ञा दिएका छन् । उनले एक तिहाईभन्दा कम सदस्य उपस्थित भएर दुई तिहाई सदस्य थप्नु अवैधानिक भएको बताए ।

‘आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एक तिहाइ भन्दा कम सदस्य उपस्थित नभएर दुई तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन। यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्,’ उनले भने।

यस्तै प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र वामदेव गौतम पनि आगामी बैठकमा आउने बताएका छन् ।