बागलुङ– प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी संकलन हुने गरेको छ ।


ADVERTISEMENT


मन्दिरमा आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड १५ लाख ३९ हजार भेटी संकलन भएको छ । आव २०७२÷७३ भन्दा रु २५ लाख बढी भेटी संकलन भएको छ । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार नगदबाहेक भक्तजनले बोका, राँगो, कुखुरा, हाँसको मुढ (टाउको), परेवा, चामल र तेल बिक्रीको रकम पनि भेटीमा जाने गरेको छ ।


ADVERTISEMENT

# # #


गत आवमा मन्दिरमा बलि दिइएका एक हजार ८५४ बोकाको मुढ बिक्रीबाट रु १२ लाख ९९ हजार संकलन भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । दुई हजार ६०७ कुखराको मुढबाट रु एक लाख १४ हजार र राँगोको मुढबाट रु ३५ हजार ९०० संकलन भएको छ ।

मन्दिरको भेटीमा सबैभन्दा बढी परेवा बिक्रीबाट रकम जम्मा भएको छ । गत आवमा मन्दिरबाट बिक्री भएका आठ हजार ८७५ जोडी परेवाबाट रु ३५ लाख ५० हजार भेटी उठेको छ । प्रतिजोडी परेवा रु ४०० बिक्री हुने गरेको छ । बोकाको मुढ रु ४००, राँगाको रु १००, कुखरा र हाँसको मुढ रु ४५ मा बिक्री हुने गरेको अध्यक्ष खड्का बताउँछन् । मुढ बिक्रीमा विगतमा देखिएको समस्या हटाउन समितिले यस वर्षदेखि तौल र गोटा प्रणाली अपनाएको छ ।

यस्तै, भक्तजनले चढाएको चामल (अक्षेता) बिक्रीबाट मन्दिरले रु दुई लाख १८ हजार भेटी संकलन भएको छ । मन्दिरमा चढेको तेल, कपडा लगायतका सामग्री बिक्रीको रकम मन्दिरको भेटीमै जम्मा हुन्छ । रसिद काटेर आर्थिक सहयोग गर्ने भक्तजनबाट वर्षभरिमा रु ७५ हजार संकलन भएको अध्यक्ष खड्काले बताए । कालिका मन्दिर देशमै प्रसिद्ध शक्तिपीठका रुपमा परिचित छ ।