काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका वडा नं. ५ का आयुष थापा मगर र दोलखा भिमेश्‍वर नगरपालिका वडा नं. ३ भिमफेदीका रोशन लामिछाने रहेका छन् ।


ADVERTISEMENT


पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आयुषलाई नयाँबजार स्थित सडक खण्डबाट र रोशनलाई बालाजुस्थित सडक खण्डबाट सवार गरीरहेको मोटरसाईकलसहितआईतबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


आयुष थापा मगरबाट प्रदेश ३–०२–००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल गत भदौ ६ गते ठमेलस्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्ग स्थलबाट हराएकाले खोजीको माग गर्दै कुमार राना मगरले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।

रोशन लामिछानेलाई प्रदेश ०२–०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको छ। उक्त नम्वरको मोटरसाईकल मंसिर १४ गते काठमाण्डौ बनस्थलीबाट हराएको थियो । राम कृष्ण ढकालले हुलिया सहितको निवेदनका आधारमा महाशाखाले खोज तलास गरी भेट्टाएको हो ।

मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ । महाशाखाले पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।