हुम्लाको चंखेली–दार्मा स्थित महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतद्वारा नेरु.४.४१३ करोड आर्थिक सहयोग प्रदान


ADVERTISEMENT


भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली–दार्मा स्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको उक्त परियोजनाका लागि भारत सरकारले नेरु.४.४१३ करोड आर्थिक सहयोग प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आबद्घ रहेको छ ।

साना विकास परियोजनाको नामले परिचित उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ । सो परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन् ।

नजिकका छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ । प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्घतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौतापत्रले प्रतिबिम्बित गरेको छ ।