शेरबहादुर सिंह, कन्चनपुर – डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्छन् । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुगेका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ ।

राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रुपमा मात्रै होइन, उनी कुस्तीका राष्ट्रिय खेलाडी र कुस्तीमा मुलुकमै प्रतिभावान खेलाडीका रुपमा उदाएकी महिला खेलाडी शिवानी दुबेका बुबा हुन् ।


ADVERTISEMENT

# # #


साँढे १६ वर्षको उमेरमा राष्ट्रियस्तरमा पाँच स्वर्ण र गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा रजत पदक विजेता शिवानीको सफलताको पछि उनका बुबाको महत्वपूर्ण भूमिका छ ।

राजु दुबे कुनै बेला भारतको हरियाणा क्षेत्रमा गाडीमा मजदूरीसँगै कुस्ती खेल्थे । “भारतमा करिब २५ वर्ष कुस्ती खेले”, बिहीबार बिहान यहाँस्थित कवर्डहलमा भेटिएका उनले भने, “भारत छाडेर स्वदेश आएको २० वर्षपछि छैठौं, सातौं र आठौं राष्ट्रिय कुस्ती प्रतियोगिता खेल्यौँ ।”

उमेरले ४५ वर्ष नाघिसक्दा पनि कुस्तीतर्फ छैठौं र सातौँमा कास्य पदक जितेका दुबेले बृहत आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि सहभागी भएका थिए । “आठौंमा त छोरी र म सँगै प्रतिस्पर्धामा उत्रिएका थियौं”, सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेका दुबेले भने, “छोरीले स्वर्ण जितिन, म दोस्रो खेलमा घाइते भएर बाहिरिएँ ।”

हरेक सन्ततिको सफलताकोपछि अभिभावकको ठूलो भूमिका हुने भन्दै छोरीलाई हरेक दिन यहाँस्थित कवर्डहलमा प्रशिक्षण गराउँदै आएका राजुले आफै पनि नियमित प्रशिक्षण गराउने गरेका छन् । बिहान बुबासित प्रशिक्षण लिइरहेकी शिवानी बेलुकी भने कुस्तीका अन्य खेलाडीसँगै प्रशिक्षणमा हुन्छिन् । बुबाको प्रेरणाबाटै कुस्तीमा अघि बढिरहेकी शिवानीले आगामी लक्ष्य भनेको साग प्रतियोगितामा स्वर्ण जित्ने बताइन् ।

“सागमा मेरो प्रतिस्पर्धा भनेकै भारतीय खेलाडीसित हुनेछ”, शिवानीले भनिन्, “१३औँ सागमा भारतबाट एशियन च्याम्पियन खेलाडीसित टक्कर दिनेगरी प्रतिस्पर्धा गरेको थिए ।” कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच पनि बुबाले डेरामै नियमित प्रशिक्षण दिएको उनको भनाइ छ । “प्रायः प्रतियोगिता सकिएपछि खेलाडीले नियमित प्रशिक्षण नै छाड्ने यहाँ परम्परा जस्तै बनेको छ”, दुबेले भने, “मैले त साग सकिएसँगै छोरीको प्रशिक्षणलाई आजसम्म छुटाइन ।”

छोरीलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्यका साथ अग्रसर रहेका दुबेले छोरीलाई चार वर्ष भारतमै राखेर प्रशिक्षण गराउने बताए । “यसवर्ष सागपछि छोरीले सम्मान र पुरस्कार स्वरुप रु ६ लाख पाएकी थिइन”, उनले भने, “सोही रकम छोरीको प्रशिक्षणका निम्ती भारतमा खर्चिदै छु ।”

आफूले पनि आर्थिक अवस्था कमजोर हुँदा खेलबाट टाढिनुपरेको बताउँदै उनले अहिले आफ्नै खर्चमा छोरीलाई भारत प्रशिक्षणमा पठाइरहेको बताए । “प्रशिक्षणका लागि भारतको हरियाणामा रु अढाई लाख भारतीय रकम जम्मा गरेर आएको छु”, उनले भने, “मासिक रु दश हजार भारु लाग्छ ।”

छोरीसँगै देशका विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी हुने गरेका दुबेले मुलुकमा कुस्तीका अब्बल खेलाडी रहे पनि राज्यले ध्यान दिन नसकेको बताए । “नेपालका खेलाडी नभएका होइनन्”, उनले भने, “खेलकूदबाट आर्थिक अवस्था मजबूत र जागिरको ग्यारेन्टी हुनुपर्छ ।” फुर्सदमा जग्गा किनबेचको कारोवार गरेर जीविका चलाउँदै आएका उहाँले डेरामै बसेर छोरी शिवानीसँगै सिङ्गो परिवारको खर्च चलाइरहेको बताए ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण जितेपछि कान्छी कुस्ती खेलाडीका रुपमा चर्चा बटुलेकी शिवानीले कक्षा–८ पढ्दादेखि नै कुस्ती खेलमा आवद्ध भएको बताइन् । “राष्ट्रियस्तरमा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन”, उनले भनिन्, “बिहान प्रशिक्षणमा ल्याउनेदेखि खानाको व्यवस्थापनसम्म बुबाले गर्नुहुन्छ ।” उनले भारतमा प्रतियोगिता जितेर बुबा मेडलसहित घर फर्किंदा आफू पनि हौसिएर खेलकूदमा लागेको बताइन् ।

त्यसैगरी कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलमा सुदूरपश्चिम मुलुककै अब्बल सावित भइसकेको बताए । “अध्ययन समय बाहेक शिवानी प्रशिक्षणमा मेहनत गर्छिन्”, उनले भने, “ बल र आइडिया सबै राम्रै छ ।” गत वर्ष भएको साग खेलकूद प्रतियोगितामा एक स्वर्णसहित सात पदक जितेपछि महेन्द्रनगरको कुस्तीमा वर्चस्व रहेको प्रशिक्षक चन्दको भनाइ छ ।

जिल्ला खेलकूद विकास समितिको कार्यालयको कोठामा प्रशिक्षणरत कुस्ती खेलाडीका लागि हलको व्यवस्थापनको पहल भइरहेको छ । “केही दिनअघि यहाँ आएका राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिवलाई पनि कुस्तीको अवस्था र समस्याका बारेमा बताएका छौं”, चन्दले भने, “सदस्य सचिवले हलका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।” रासस

प्रतिकृया

प्रतिकृया