बीबीसी – गत वर्षको आरम्भमै चीन सरकारले दुईवटा चुनौती खेप्नुपरेको थियो। देशभरि ठूलो खतराका रूपमा देखिएको एउटा अज्ञात रोग अनि त्यहाँको अवस्थाबारे इन्टरनेटको माध्यमबाट विश्वभरि सूचना दिइरहेका मानिसहरूको आवाज शक्तिशाली चीनका ठूला चुनौती थिए।

तर सन् २०२० को अन्त्यसम्म सरकारद्वारा नियन्त्रित सञ्चारमाध्यमलाई गहिरिएर हेर्ने हो भने दुवै चुनौती अब नियन्त्रण आइसकेको जस्तो देखिन्छ।

बीबीसीका केरी इलन र जाओयिन फेङले कसरी चीन सरकारले नकारात्मक समाचारलाई अङ्कुश लगायो अनि त्यो अवस्थामा कसरी केही नागरिकले त्यहाँको जानकारी प्रवाह गर्न सके तथा सरकारी संयन्त्रले त्यसको प्रतिवादमा फरक धारणा बनायो भन्ने विषयको समीक्षा गरेका छन्।

अनलाइनमा आक्रोश

वर्षको आरम्भतिरै अप्रत्याशित कुरा हुन थालेको स्पष्ट भइसकेको थियो।

चीनको सामाजिक सञ्जालमा मानिसहरूका हजारौँ सन्देशले कोलाहल सिर्जना गरेका थिए।

उनीहरूले कतै स्थानीय सरकारले ‘सार्स’जस्तो भाइरस लुकाउने प्रयास गरिरहेको त छैन भनी प्रश्न गरिरहेका थिए।

सीना वेइबो

‘सीना वेइबो’ जस्ता सामाजिक सञ्जालमा सरकारविरोधी पोस्ट सेन्सर गरिन्छ। तर यस पटक सन्देशको बाढी आएकाले केही सामग्रीमा सेन्सर नभएको देखियो।

कैयौँ सञ्चारमाध्यमले ज्यानुअरी र फेब्रुअरीमा अवसर छोपेर खोजमूलक विवरण प्रकाशन गरे। ती विवरणहरू सामाजिक सञ्जालमा निकै फैलिएपछि बेइजिङ दुष्प्रचारमा ओर्लियो र ती समाचार दबाइयो।

ज्यानुअरीको मध्यतिर चीनका राष्ट्रपति सी जिन्पिङ अचानक त्यहाँका सञ्चारमाध्यमका समाचारबाट ओझेल परे।

उनी कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्। ‘पीपल्स डेली’जस्ता परम्परागत सरकारी सञ्चारमाध्यमको पहिलो पृष्ठमा पनि उनको तस्बिर छापिएन।

उनी दोषमुक्त हुन भौतिक रूपमा ओझेल परेको आशङ्का गरियो।

वुहान

तर एक हप्तापछि अवस्था केही फेरियो।

सरकारका उच्च अधिकारीले स्थानीय सरकारलाई यदि आफ्नो इलाकामा कोरोनाभाइरसको विषय लुकाए ऐतिहासिक लज्जा हुने चेतावनी दिन थाले।

चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वुहानले किन तत्काल मानिसहरूलाई भनेन भनेर त्यहाँको नेतृत्वलाई दोष दिँदै अस्वाभाविक टिप्पणीहरू आए।

त्यसपछि फेब्रुअरीमा राष्ट्रपति सी आत्मविश्वास र शक्तिको स्तम्भको रूपमा फेरि देखा परे।

चिकित्सकलाई नियन्त्रण गर्ने नीति

थुप्रै भ्रमका बीच एक चिकित्सकको आवाज दबाउनु नहुने थियो भन्ने स्पष्ट भयो। लि वेन्लियाङले सार्सजस्तो एउटा सरुवा रोग भयावह स्थितिमा फैलिरहेको चेतावनी दिएका थिए।

उक्त रोगकै कारण फेब्रुअरी ७ मा उनको मृत्यु भयो।

‘मिथ्या टिप्पणी’ गरेर ‘सामाजिक सुव्यवस्था बिथोलेको’ आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो भन्ने कुरा प्रकाशमा आयो।

उनको मृत्युपछि १० लाखभन्दा धेरै प्रयोगकर्ताले वेइबोमा उनको प्रोफाइलमा समर्थन जनाए। पछि बिस्तारै ती पोस्टहरू हटाइयो।

तर इन्टरनेट प्रयोगकर्ताहरूले इमोजी, मोर्स कोड र प्राचीन चिनियाँ लिपिको माध्यमबाट उनको सम्झना गर्ने रचनात्मक तरिका खोजे।

फेसबुक र वीच्याटका प्रयोगकर्ताले आफूले लगाएको मास्कमा ‘मैले सक्दिनँ’ र ‘मैले बुझ्दिनँ’ लेखेर पोस्ट गर्ने ट्रेन्डनै सुरु भयो।

डा. लिको मृत्यु भएपछि उनको समर्थनमा इन्टरनेटमा यस्ता तस्बिरहरू प्रेषित भए

प्रहरीले अनुसन्धानका क्रममा डा. लिलाई चेतावनी दिँदै सोधेका प्रश्नको उत्तरको रूपमा उनीहरूले त्यसो लेखेका हुन्।

पछि चिनियाँ अधिकारीले डा. लिलाई ‘शहीद’ माने।

तर अन्य कैयौँ महत्त्वपूर्ण कार्यकर्ताहरूको नाम कोभिड- १९ को इतिहासबाट हटाइएको हुनसक्छ।

पत्रकार बेपत्ता

वुहान प्रकोपका बेला नागरिक पत्रकारितामा संलग्न व्यक्तिहरूले सूचना बाहिर पुर्‍याएर अन्तर्राष्ट्रिय रूपमा प्रभावकारी काम गरेका थिए।

तीमध्ये पर्ने शेन चिउशी, फाङ बिन र जाङ जानले बनाएको भिडिओ लाखौँ मानिसले यूट्यूबमा हेरेका छन्। उक्त भिडिओलाई उनीहरूले वुहानको वास्तविक तस्बिर भनेका छन्।

तर उनीहरूले त्यसको मूल्य तिर्नुपर्‍यो। कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सीपीजे) का अनुसार वुहानमा अधिकारीहरूले चीन सरकारको धारणाको निम्ति खतरा बनेका कैयौँ पत्रकारहरूलाई गिरफ्तार गरे।

जाङ जान

ती पत्रकार अझै पनि जेलमा रहेको सीपीजेले जनाएको छ।

ली जुख्वाले फेब्रुअरीमा यूट्यूबमा एउटा भिडिओ पोस्ट गरे। त्यसमा उनले प्रहरीले आफूलाई पिछा गरिरहेको बताएका थिए। त्यसपछि उनी बेपत्ता भए।

दुई महिनासम्म उनीबारे सुइँको पाइएन। पछि क्वारन्टीनमा बसेको र अधिकारीहरूलाई सहयोग गरिरहेको भनिएको उनको भिडिओ सार्वजनिक भयो। त्यसपछि उनको कुनै पोस्ट देखिएन।

उनलाई बलपूर्वक उक्त भिडिओ पोस्ट गर्न लगाएको हुनसक्ने केहीको भनाइ छ।

इतिहास लेख्ने नयाँ पुस्तक र टीभी शो

चीनले एउटा निकै सकारात्मक तस्बिर देखाउने प्रयास पनि गर्‍यो।

‘द क्राउन’ ब्रिटेनको राजपरिवारको इतिहासको अप्रमाणित संस्करण हुनसक्ने भन्दै कतिपयले चिन्ता गरे जस्तै कैयौँ चिनियाँमा पनि वुहानमा जे भएको थियो त्यो कोभिडबारे पछि लेखिने पुस्तक र प्रस्तुत हुने टेलिभिजन कार्यक्रमहरूमा वास्तविक रूपमा उजागर नहुने चिन्ता थियो।

वर्षको सुरुमा चिनियाँ लेखक फाङ फाङले वुहानमा आफूले व्यतीत गरेको जीवनको अभिलेख तयार पारेकोमा व्यापक प्रशंसा पाइन्। उनको लेखनले वुहानका मानिसको त्रास र आशाको दुर्लभ झलक प्रदान गरेको छ।

फाङ फाङ

तर ‘वुहान डायरी’ लेखेका कारण उनी चिनियाँ राष्ट्रवादीको आलोचनाको निसानामा परेकी छन्।

उनीहरूले फाङमाथि चीनको छवि धमिलो पार्न र निराशापूर्ण सन्देश प्रवाह गर्न चाहेको आरोप लगाएका छन्।

सरकारी सञ्चारमाध्यमले पनि अन्य पुस्तकको प्रवर्धन गरे जसमा महामारीसँग सङ्घर्ष गर्न अधिकारीहरूको भूमिकाबारे सरकारको सकारात्मक सन्देशलाई बल दिइएको थियो।

केही सन्दर्भमा सरकारी सञ्चारमाध्यमले पनि सरकारी निर्देशन पालनाका विषयमा असन्तुष्टि खेप्नुपर्‍यो।

सेप्टेम्बरमा ‘सत्य घटनामा आधारित’ अग्रपङ्क्तिमा काम गर्ने मानिसबारे निर्मित नाटकको पहिलो शो ‘हिरोज इन हार्म्स वे’ देखाइँदै गर्दा उक्त कार्यक्रमको आलोचन भयो। त्यसमा प्रकोपका क्रममा महिलाले निर्वाह गरेको भूमिका न्यून बनाएर चित्रण गरिएको थियो।

सन् २०२० को बिदाइसँगै चीनले आफ्नो क्षमता उच्च रहेको देखाउन खोजेको छर्लङ्ग छ।

कोभिड-१९ बारे बनाइएको कार्यक्रमको आलोचना भयो

उसले आफ्ना नागरिक र बाँकी विश्वलाई आफूले कोभिड-१९ विरुद्धको लडाइँ करिब जितिसकेको सन्देश दिन खोजेको छ।

तर कोरोनाभाइरस महामारीको थालनीसँग आफ्नो सम्बन्ध रहेको तथ्यसँग चीन पर बस्न खोजेको छ।

अहिले उसले कोभिड-१९ माथिको आफ्नो जितको अर्थ पश्चिमा देशको भन्दा आफ्नो राजनीतिक प्रणाली बढी सफल छ भन्ने कुरालाई देखाउन खोजेको जस्तो देखिन्छ।

(यो  समाचार सामाग्री बीबीसीले तयार पारेको हो)


ADVERTISEMENT


प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT

# # #