काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी यात्रा सुरु गरेको छ । आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको शतकको मदतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशका लागि समीर कँडेलले अर्धशतक प्रहार गरे । सर्वाधिक ५० रन जोडेका उनले ९० रनमा ५ चौका प्रहार गरे । यस्तै कप्तान विपीन खत्रीले २५ बलमा २ चौका र ४ छक्काको मदतमा नटआउट ३७ रन जोडे । अर्जुन कुमाल ३६, पीपक डुम्रे २६ रनमा आउट हुँदा विष्णु पाण्डेले १२ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

आर्मीका लागि राजेश पुलामी मगरले ५ विकेट चट्काए । त्यसक्रममा ९ ओभर बलिङ गरेका उनले २ मेडेन फाल्दै २५ रन मात्रै खर्चिए । यस्तै भीम सार्कीले ३ विकेट लिए भने रोहित पौडेल र आकाश चन्दका नाममा समान १–१ विकेट रह्यो ।

यसअघि आर्मीका कप्तान विनोदले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । उनले ७६ बलमा ९ चौका र ५ छक्काको मदतमा नटआउट १११ रन बनाए । यस्तै राजु रिजाल ७१ कलमा ४ चौका र १ छक्कासहित ४५ रन, लोकेश बम ३० बलमा ३ चौका र २ छक्काको मदतमा ४२ रनमा आउट हुँदा राजेश पुलामी मगरले ३८ रन बनाए भने भीम सार्की १५, हरिकृष्ण झा १४ र रोहित कुमार पौडेलले १० रन बनाएर पेवेलियन फर्किए ।

गण्डकी प्रदेशका लागि कप्तान विपीन खत्री र विशाल पौडेलले समान २–२ विकेट लिए भने चन्द्र पौडेल र दीपेश खत्रीका नाममा समान १–१ विकेट रह्यो ।

प्रतियोगिताको अर्को खेल शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) र प्रदेश नं. १ बीच त्रिवि मैदानमै हुनेछ । प्रतियोगितामा कुल ७ वटा प्रदेश र ३ विभागीय टिम गरी १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।