काठमाडौँ– नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना गर्यो ।


ADVERTISEMENT


समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो ।

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपालको संविधान दिवसको महत्वबारे चर्चा गर्दै संविधानले देशमा शान्ति, सद्भाव र भातृत्व जोगाएको बताउनुभयो । उहाँले नेपालको पछिल्लो राजनीतिक प्रगति र उपलब्धिबारे उल्लेख गर्नुभएको थियो ।

कुबेतमा पनि संविधान दिवस मनाइयो

संविधान दिवसको अवसरमा कुबेतस्थित नेपाली राजदूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा कुवेत सरकारका परराष्ट्र सहायकमन्त्री अमलमेज्रन अल–हमादको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुवेत सरकारका अन्य उच्चपदस्थ पदाधिकारी, कुवेतस्थित विभिन्न मुलुकका राजदूत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि एवं नेपाली समुदायको सहभागिता रहेको थियो ।

सो अवसरमा कुबेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपालको इतिहासमा पहिलो पटक ऐतिहासिक संविधानसभाद्वारा संविधान जारी भएको र सो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको बताउनुभयो ।

उहाँले नेपाल विश्वको एक आकर्षक पर्यटकीय गन्तव्य रहेको हुँदा कुवेती नागरिक एवं अन्य विदेशीलाई नेपाल भ्रमणमा जान आग्रह गर्दै नेपालको कार्पेट, टेक्सटाइल, पश्मिना, अलैची, चिया, अन्य औषधिजन्य जडिबुटी जस्ता उत्पादनहरु विश्वभर प्रख्यात रहेको चर्चा गर्नुभयो ।

सन् १९७२ मा कुवेत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।
कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, इतिहास, कला, संस्कृति झल्कने तस्विर, डकुमेन्ट्री भिडियो तथा पर्यटनसम्बन्धी जानकारीमूलक प्रचार सामग्री प्रर्दशन गरी प्रचारप्रसार गरिएको थियो ।