बुटवल– जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ११ वर्षपछि फरार एक अभियुक्तलाई केही दिनअघि पक्राउ गर्यो ।


ADVERTISEMENT


प्रहरीले ११ वर्षअघि गाउँमै एक व्यक्तिको हत्या गरी फरार रहेका जिल्लास्थित सम्मरीमाई गाउँपालिका–१ का ६२ वर्षीय भोला पासीलाई भदौ ३१ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेका पासीसहितको समूहले २०६३ माघ १९ गते सम्मरीमाई वडा नं १ मुडिला गाउँ बस्ने खैरुला गद्धीको हत्या गरेका थिए । उक्त घटनामा संलग्न रमावती पासीलाई सोही समयमा पक्राउ गरी अदालतको आदेशमा कारागार चलान गरिएको र घटनामा संलग्न अन्य फरार अभियुक्त रमावती पासी, भोला पासी र भवई पासीसमेतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, असोज ३ गते सियारी गाउँपालिका–३ निवासी ३८ वर्षीय सीताराम यादवलाई पनि प्रहरीले कर्तव्य ज्यानको अभियोगमा पक्राउ गरेको छ । यादवले सोही स्थानका ६२ वर्षीय हरिराम यादवलाई सामान्य विवादमा लाठी र इँटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही करिब एक वर्षदेखि फरार रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ४ बस्ने वर्ष २३ को विकास थापालाई इलाका प्रहरी कार्यालय बुटवलले दुई दिनअघि पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

उनले २०७३ कात्तिक १८ गते राति बुटवल उपमहानगरपालिका साविक वडा नं ६ हाल वडा नं ४ आदर्शनगरस्थित शम्भु घर्तीमगर पुनलाई ज्यान मार्ने उद्देश्यले बाँस, चिर्पट, दाउरा तथा तरबारले शरीरको संवेदनशील अंगमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका थिए ।

प्रहरीको सक्रियतासँगै जिल्लामा यस किसिमका गम्भीर अपराधका फरार अभियुक्त पक्राउ पर्न थालेका छन् । जिल्लामा भर्खरै आउनुभएका प्रहरी प्रमुखको सक्रियताले यस किसिमका अभियुक्तमात्र होइन अवैधरुपमा सीमापारिबाट भन्सार छलेर ल्याइने तस्करीका सामानसमेत जफत परेका छन् ।

प्रहरीले भन्सार छलेर अवैधरुपमा लु २ त ३१६१ नंको ट्र्याक्टरबाट नेपाल भित्र्याउँदै गरेको करिब रु तीन लाख ८५ हजार मूल्य बराबरको हार्डवेयरका सामान, चालक सद्धाम मुसलमान र ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

यसैगरी, प्रहरीले रुपन्देहीको दक्षिणी नाका मर्चवार, मझगाँवा, मर्यादपुरलगायत नाकाबाट अवैधरुपमा भित्र्याइएको करिब रु तीन लाख १९ हजार मूल्य बराबरको खाद्यान्न तथा लत्ता कपडा बरामद गरेको छ ।

जिप्रकाका अनुसार सिद्धार्थनगर नगरपालिका–१२ भीमकाली पथमा रहेको पशुपति क्यारियर नेपाल ट्रान्सपोर्ट नेपालबाट लु २ ख ८०२७ नंको ट्रकमा खुद्रा कपडा तथा अन्य सामान लोड गरी भैरहवाबाट काठमाडौँतर्फ जान लागेको अवस्थामा प्रहरीले शंका मानी जाँच गर्दा ट्रकमा बिलमा उल्लेख भएभन्दा बढी सामान लिई जान लागेको अवस्थामा बाराको परवानीपुर गाउँपालिका–१ निवासी प्रमोदकुमार महतोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीले दशैँ तिहार नजिकिँदै गर्दा घरायसी प्रयोजनका लागि भन्दै पोके तस्करले भारतीय बजार सुनौलीबाट घरायसी र अन्य सामान तस्करी गर्न थालेपछि सीमा नाकालगायत सिद्धार्थनगरका अन्य क्षेत्रमा समेत कडा जाँच शुरु गरेको छ ।

यस क्षेत्रमा गम्भीर समस्याका रुपमा रहेको लागुऔषधको प्रयोगलाई नियन्त्रण गर्नसमेत प्रहरीले विशेष योजना बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली बताउनुहुन्छ ।

रुपन्देही भारतीय सीमासँग जोडिएको मुख्य नाका हो । खुल्ला नाकाका कारण यहाँको मुख्य नाका बेलहिया र अन्य साना नाकाको प्रयोग गरी दैनिक ठूलो मात्रामा लागुऔषध ओसारपसार हुने गर्छ ।

भारतीय सीमा बजारबाट अवैधरुपमा नेपाल भित्रिने लागुऔषध नेपालका मुख्य शहर पोखरा, काठमाडाँै, बागलुङ, पर्वत, गुल्मी र पाल्पालगायतका बजारमा पु¥याउने गरेको पाइन्छ । यस किसिमको गम्भीर समस्यालाई नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउँदै प्रहरी उपरीक्षक ज्ञवालीले भारतीय जिम्मेवार अधिकारीसँग समेत सहकार्यका लागि छलफल भएको बताउनुभयो ।

प्रहरीले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत यस कारोबारमा संलग्न भएको आरोपमा पाँचजना युवालाई पूर्पक्षका लागि भैरहवा कारागार चलान गरिसकेको छ । प्रहरीका अनुसार काठमाडाँै–६ का अभिषेक शेरचन, कैलालीका सुमन शाह, बुटवल–५ का मोहम्मद रहिस, कास्की लेखनाथका गणेश गुरुङ र राजेश गुरुङलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक ज्ञवालीले जुनसुकै किसिमका अपराध, अवैध तस्करी र लागुऔषध कारोबारमा संलग्न जो कोहीलाई पनि कानूनको दायरामा ल्याइनेसमेत बताउनुभयो । रासस