विराटनगर – बुधवारदेखि सुरु हुने प्रदेश १ संसद्को हिउँदे अधिवेशनमा कुर्सी तोडफोड हुने सम्भावना उच्च भएपछि संसद्का कुर्सी वेल्डिङ गरिएको छ ।


ADVERTISEMENT


यसअघि संसद् भवनका कुर्सी सजीलै उचाल्न मिल्ने खालका थिए । तर नेकपाभित्रको चर्किदो विवादका कारण कुर्सी तोडफोड हुने खतरा बढेपछि कुर्सी उचाल्न नसकिने गरी वेल्डिङ गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्रको विवाद चर्किदै गएको छ । केन्द्रको विवाद प्रदेशमा पनि पुगेर प्रचण्ड–नेपाल पक्षले प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता समेत गराइसकेका छन् । यही विषयलाई लिएर अधिवेशनमा कुर्सी तोडफोड हुन सक्ने सम्भावना उच्च देखिएकाले वेल्डिङ गरिएको प्रदेश सभा सचिवालयका एक सदस्यले बताए ।

यसअघि पनि प्रतिनिधि सभा, संविधान सभा र लुम्बिनी प्रदेश सभामा कुर्सी तोडफोडको घटना देखिएको थियो ।

प्रचण्ड नेपाल पक्षले मुख्यमन्त्री राईका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि उनले १६ जनालाई निलम्बन गर्ने घोषणा गरेका थिए भने अर्को पक्षले मुख्यमन्त्रीलाई नै निलम्बन गर्ने घोषणा गरेको थियो । मुख्यमन्त्री राईले निलम्बनमा परेका संसद्लाई अधिवेशनमा छिर्नै नदिने तयारी गरेपनि अर्को पक्षले मुख्यमन्त्रीको उक्त तयारी नियमावलीकैविरुद्ध भएको बताइरहेका छन् ।