अन्नपूर्ण– आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि अनिवार्य गरिएको पिसिआर रिपोर्टको नियम हटाइए संगै अब त्यहाँ जानका निम्ति पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको हो । विश्वकै चर्चित उक्त पदमार्ग यही माघ १ गतेदेखि मात्रै विश्वको चर्चित खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने भन्दै पिसिआरको अनिवार्यतालाई अन्त्य गर्ने निर्णय गरेकोे हो ।


ADVERTISEMENT


समितिका सचिव दिलीप गुरुङका अनुसार, कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थालाई दृष्टिगत गरी पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समयअघि पाहुनाका लागि होटल खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौँ’, उनले भने, ‘अब कोरोना सङ्क्रमण पनि घट्दै गएको र जनजीवन पनि सामान्य अवस्थामा फर्किएका कारण पनि पिसिआर रिपोर्ट अलि झन्झटिलो भएको महसुस गरी समितिले यस्तो निर्णय लिएको हो ।’


ADVERTISEMENT

# # #


यद्यपि आधार शिविर आउने पदयात्रीलाई स्वास्थ्य अवस्था मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाएर मात्रै आउन समितिले आग्रह गरेको छ । पदमार्ग अन्तर्गत हाल देउरालीसम्म होटल पूर्णरूपमा खुलेको र त्यहाँबाट माछापुच्छ्रे आधार शिविर पुग्न दुई घण्टा लाग्ने र, अन्नपूर्ण आधार शिविर थप आधा घण्टामा पुग्न सकिने बताउँदै सचिव गुरुङले, अहिलेको अवस्थामा अन्नपूर्ण आधार शिविरसम्म पुगी देउराली आएर बास बस्न समेत सकिने बताए ।

यही हप्ताभित्रमा माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा पनि होटेल खुलाउने तयारी रहेको समितिले जनाएको छ । आगामी फागुनबाट कामदारसमेत फर्किएपछि अन्नपूर्ण आधार शिविर पूर्णरूपमा खुल्ने भएता पनि हालका लागि भने आधार शिविर पुगी देउरालीसम्म फर्केर बस्ने व्यवस्था मिलाइएको छ । देउरालीबाट आधार शिविरसम्म जानका लागि स्थानीय पथप्रदर्शक व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । रासस