काठमाडौँ– उपत्यकाको ट्राफिक व्यवस्थापन सहजका निमित्त नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँमा आज उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौँका विभिन्न १५ स्थानमा १ सय ३० भन्दा बढी स्वयंसेवक परिचालन हुने बताएका छन् । स्काउट समूह आफैँमा बर्दीमा रहेका स्वयंसेवक भएको बताउँदै अम्गाईले भने; ‘कोभिड–१९ पश्चात् र पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको छ । र, हाल काठमाडौँ उपत्यकामा पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउने हुदा खुशी भएका छौँ ।”


ADVERTISEMENT

# # #


नेपाल स्काउटले सिकेको सीपलाई भरपुर उपयोग गरी आम नागरिक र यातायातकर्मीलाई सन्देश प्रवाह गर्न नचुक्ने प्रतिबद्धताउनले जनाएका छन् । उक्त समारोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले भने सडक प्रयोगकर्ताहरु एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने गरेको अनु्भव सुनाए । तसर्थ, स्काउटका स्वयंसेवकको सहयोगमा अब सो वातावरण तयार पार्नेमा उनले विश्वस्त पारे ।

यस्तै, नेपालका सडक जोखिमपूर्णका साथै कतिबेला गाडी आइपुग्ने हो? पत्तै नहुने भएकाले, ट्राफिक व्यवस्थापन थप जोखिमपूर्ण काम रहेको उनले स्पष्ट पारेका छन् । ‘स्काउटसँगको सहकार्यबाट नागरिकले थप राहत पाउने आशा छ; उनले भने । उनले जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उपत्यकाको चक्रथपभित्रको अति भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिए ।

यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न संस्था तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रुपमा परिचालन गर्दै आएको थियो । उक्त अभियान प्रभावकारी भए पनि सीमित समय सञ्चालन भएर रोकिएको थियो । यसपालि भने आजदेखि शुरु भएको सो अभियानमा स्काउटका स्वयंसेवक अब एक हप्ताका लागि परिचालन हुनेछन् ।

महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्काउटका स्वयंसेवकपछि अर्को हप्ता अन्य संस्थाबाट आएका स्वयंसेवक परिचालन गरी कार्यक्रमलाई निरन्तरता दिइनेछ। पछिल्लो समयमा ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियता कमजोर भएको सर्वसाधारणको गुनासो आइरहेको सन्दर्भमा स्वयंसेवक परिचालनले प्रभावकारी हुने विश्वास लिइएको छ ।

तर, उपत्यकामा दैनिकजसो नै सडकमा हुने प्रदर्शन, धर्ना, विरोधलगायतका गतिविधिका कारण पनि ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको छ । रासस