काठमाडौँ – हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।


ADVERTISEMENT


हिमालय एअरलाइन्स र यती एअरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेको हुन् । एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता दुवै कम्पनीको प्रतिनिधिहरुले आज आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


हिमालय एअरलाइन्सले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्सले नेपालभर संजाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ ।

सम्झौता अनुसार दुबै एअरलाइन्सले आ–आफ्नो टिकटहरु जारी गर्न, नयाँ सेवाहरुलाई समावेश गर्ने, यात्रुहरुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवाहरु एकअर्काको वेबसाईटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरुले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरु पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।

उक्त कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचको सहकार्य हिमालय र यती बिच रणनीतिक व्यापारीक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । “व्यवसाय विस्तारका लागि नयाँ मार्गहरु खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ,”– उनले भने । यस सहकार्यले व्यवसायलाई बढाएर राजश्वमा वृद्धि गर्न सहयोग पुग्ने उनको भनाई थियो ।

यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारको रुपमा पाउँदा आफूहरुलाई खुशी र उत्साहित बनाएको बताए । उक्त सहकार्यले व्यवसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाई थियो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले उक्त समझदारीले दुबै एअरलाइन्सका यात्रुहरुले थप लाभ प्राप्त गर्नसक्ने बताए। “हाम्रो संजाल विस्तारको लागि हिमालय एअरलाइन्ससँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ,”– रिमालले भने।

यती एअरलाइन्स र हिमालय एअरलाइन्सले व्यवसायका लागी नयाँ श्रोतहरु ल्याउन, यात्रुहरुको बिच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ ।

साझेदारीले दुवै एअरलाइन्सको सम्भावित यात्रुहरुको लागि नविन विचारहरु अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने उक्त कम्पनीले जनाएको छ । दुवै एअरलाइन्सका वेबसाईटका माध्यमबाट यात्रुहरुले यती एअरलाइन्स, तारा एअर र हिमालय एअरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तराष्ट्रिय दुवै गन्तव्यहरुमा चाहेअनुसारको उडान सेवा छनौट गरी फाइदा लिन सक्नेछन् ।