चितवन– जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले  खान लाउन नदिएकोमा १७, कुटपिट गरेकोमा १८ र गाली बेइज्जती गरेकोमा १३ वटा उजुरी परेको जनाएको छ ।


ADVERTISEMENT


यद्यपि उक्त तथ्यांक अनुसार, घरेलु हिंसाका घटना भने गत आर्थिक वर्षको तुलनात्मक रूपमा घटेको छ । गत आव ०७६÷७७ मा कूल ८४ वटा घरेलु हिंसाका उजुरी परेका थिए । तिनमा खान लाउन नदिएकोमा २५, कुटपिट गरेकोमा ३३ र गाली बेइज्जती गरेकोमा २६ वटा उजुरी परेका थिए । सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो ।


ADVERTISEMENT

# # #


आव ०७५/७६ मा कूल ३ सय ३५ वटा उजुरी परेका थिए । खान लाउन नदिएकोमा ८९, कुटपिट गरेकोमा १ सय ३० र गाली बेइज्जती गरेकोमा १ सय १६ वटा उजुरी परेका थिए । ती सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो । ०७४/७५ मा परेका कूल ३ सय १५ वटा घरेलु हिंसाका मुद्दालाई पनि मिलापत्रमै टुङ्ग्याइएको थियो । खान लाउन नदिएकोमा ८०, कुटपिट गरेकोमा १ सय ७८ र गाली बेइज्जती गरेकोमा ५७ वटा उजुरी परेका थिए ।

गत तीन वर्ष र चालु आवको छ महिनाको तथ्याङ्कलाई हेर्दा कुटपिट गरेका उजुरी सबैभन्दा धेरै परेका छन् । सामाजिक र पारिवारिकरूपमा अन्तरविरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुङ्ग्याउने गरेको छ । प्रवक्ता थापाका अनुसार घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ । एक महिनासम्ममा परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ ।

एक महिनासम्ममा पनि मेलमिलाप नभएका मुद्दालाई भने अदालतमा लगिने उनले बताए । अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ । आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहने उनले बताए । रासस