हुम्ला– खार्पुनाथ गाउँपालिका २, थालीका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि भने अब खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।


ADVERTISEMENT


कुखुराको मृत्युको कारण जान्न र शव परीक्षण गर्नका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो। सो कार्यालयले कुखुरामा ‘रानीखेत’ रोग पुष्टि गरेको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, कुखुरामा देखिएको रोग उपचारका लागि अबको केही दिनमा टोली खोप लिएर गाउँतर्फ जाने तयारीमा जुटेका छन् । सो रोग निवारणका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ ।

स्थानीयवासीका अनुसार, यसअघि अज्ञात भनिएको रानीखेत रोगकै कारण यहाँ दैनिक १५/२० वटा कुखुरा मर्ने गरेको छ । रासस