काठमाडौँ – महानगरी प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले नेकपा प्रचण्ड–नेपाल समूहले भोलिका लागि घोषणा गरेको आमहड्ताललाई ध्यानमा राखेर शान्ति सुरक्षा बलियो बनाइएको बताएका छन् ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा हड्तालका क्रममा हुनसक्ने दुर्घटनालाई रोक्न प्रहरीले आवश्यक तयारी गरेको र शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने उनले हिमालय पोष्टलाई बताए । एआईजी पालका अनुसार भोलि उपत्यकामा अरु दिनको भन्दा बढी मात्रामा सुरक्षाकर्मी परिचालन गरिने छ भने अपुग भए प्रहरी प्रधान कार्यालयबाट पनि सहयोग मागिने छ ।


ADVERTISEMENT

# # #


हड्तालका नाममा तोडफोड, जबरजस्ती र आगजनी गर्दै हिंड्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीको योजना रहेको उनले बताए । ‘प्रशस्त मात्रामा सुरक्षाकर्मीहरुको प्रवन्ध मिलाएका छौँ । हेड क्वार्टरबाट समेत थप सहयोग मागेर सुरक्षाका लागि अरुदिन भन्दा बढी नै सुरक्षार्मीहरु खटिनेछन् ।’ उनले भने, ‘हड्ताल शान्तिपूर्ण भएमा प्रहरीले छाड्नेछ । तर, तोडफोड, जबरजस्ती र आगजनी गर्नेलाई नियन्त्रणमा लिन्छौँ ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले त्यसै अनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनेको छ । शान्ति सुरक्षाका लागि प्रहरी संवेदनशील बनेको र आफ्नो तयारी पूरा गरेको एआईजी पालको भनाई छ । एउटा पक्षले बन्द गर्दै हिंड्ने र अर्को पक्षले त्यसलाई उल्लंघन गर्न सक्ने भएकाले भीडन्त समेत हुने कुरालाई ध्यानमा राखेर सुरक्षा रणनीति अपनाइएको उनले बताए ।

प्रहरीले हड्ताललाई मध्यनजर गर्दै देशैभरिको सुरक्षा व्यवस्था कडा पारेको र आम हड्तालका नाममा हुन सक्ने दुर्घटनालाई रोक्नका लागि प्रहरीले तयारी गरेको छ ।