कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाको नाम परिवर्तन गरी ‘गोविन्द नगरपालिका’ राख्न स्थानीयले सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


देशको सीमा रक्षाका लागि लड्दा लड्दै शहिद भएकाले गोविन्द गौतमप्रति सम्मान व्यक्त गर्न उनकै नामबाट नगरपालिकाको नामाकरण गरिनुपर्ने स्थानीयले माग गरेका हुन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद दिवानसिंह विष्टले गोविन्द गौतम राष्ट्रको शहिद भएकाले उनको सम्मानमा पुनर्वास नगरपालिकालाई ‘गोविन्द नगरपालिका’ नामाकरण गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


गत बिहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट पुनर्वास नगरपालिकाका ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गरेको छ । र, उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि हुँदैछ ।

शहीद गोविन्द गौतमको पारिवारिक अवस्थाबारे जानकारी लिन पुगेका सांसद विष्टले भने, ‘भारतीयहरुले नेपालतर्फ करिब ५ सय मिटरभित्र प्रवेश गरेर गोविन्द गौतमको हत्या गरेका छन् । उनी राष्ट्रका शहिद हुन् । त्यसैले पुनर्वास नगरपालिकालाई ‘गोविन्द नगरपालिका’ नामाकरण गर्न म पहल गर्दछु ।’

त्यस्तै आनन्दबजारका स्थानिय गोविन्द सापकोटाले पनि गोविन्द गौतमलाई राजनैतिक मुद्दामा आफ्नै–आफ्नैबीच हुने झडपमा मृत्यु भएपछि राज्यले घोषणा गर्ने शहिदभन्दा फरक किसिमको सम्मान गर्नुपर्ने बताए । राज्यले शहिद घोषणा गरेर मात्रै पन्छिन नहुने उनको भनाइ छ ।

आनन्दबजारकै बासिन्दा चन्दा सापकोटाले सरकारले परिवारको जिम्मा लिनुपर्ने बताउँदै पाँचौं शहिदका रुपमा घोषणा गरी उचित सम्मान दिइनुपर्ने बताइन् । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द ठाकुर चारजना शहिदपछि गोविन्द गौतम पाँचौ शहिद भएको चन्दाको भनाइ छ ।

कञ्चनपुर आनन्द बजारकै बासिन्दा भीमराज काफ्लेले राज्यका खातिर आफ्नो ज्यान बलिदान गर्ने गोविन्द गौतम अरु राजनैतिक मुद्दामा ज्यान गुमाएर शहिद भएकाहरुभन्दा फरक भएको धारणा राखे ।

राज्यले कागजीरुपमा मात्र शहिद घोषणा गरेर केही नहुने भन्दै परिवारका सदस्यहरुलाई उचित शिक्षा र गाँसबाँसको ग्यारेन्टी गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस धनगढीका युवा नेता राजबहादुर ऐरले पनि सरकारले गोविन्द गौतमलाई शहिद घोषणा मात्रै गरेर पन्छिन नहुने भन्दै सरकारले उनको परिवारको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दीपक सिंहले गोविन्द गौतम आफ्नो सीमा रक्षार्थ शहिद भए, राज्यले उनको उचित सम्मान गर्नुपर्ने धारणा राखे । उनले भने( ‘आफ्नो देशको सीमा रक्षाका लागि राज्यले गर्नुपर्ने काम गोविन्द गौतमले गर्न खोजेका छन् । उनी कञ्चनपुरका मात्रै नभई नेपालको सपुत हुन्,’ सिंहले भने