काठमाडौँ– विजय कुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई आफ्नो पार्टीमा ल्याउनेबारे नेपाली कांग्रेसभित्र आज अन्तिम बहस सुरु भएको छ ।


ADVERTISEMENT


आज बिहीबार कांग्रेस शीर्ष नेताहरुले गच्छदारलाई चुनाव अघि नै आफ्नो पार्टीमा ल्याउनेबारे अन्तिम छलफल गरिरहेका छन् । यसबारे पार्टी सभापति शेरबहादुर देउवाले पटक पटक अध्यक्ष गच्छदारसँग कुराकानी गरेका थिए । तर उनलाई कुन पद दिने भन्नेबारे अहिलेसम्म कुनै सहमति भएको छैन् ।


ADVERTISEMENT

# # #


दुई नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा लज्जाजनक पराजय भएपछि गच्छदार कांग्रेसमा प्रवेश गर्न लागेका थिए । तर, जीतेन्द्र देव लगायतका नेताहरुको असहमतिका कारण उनी कांग्रेसमा प्रवेश गर्न सकेका थिएनन् । अहिले भने कांग्रेस शीर्ष नेताहरुले नै उनलाई यथाशक्य चाँडो बोलाउने भएको छ ।

लोकतान्त्रिक फोरममा गच्छदार कांग्रेससँग एकता गर्न चाहन्छन् भने देवहरु माओवादीसँग निकट छन् । गच्छेदार कांग्रेसको पृष्ठभूमिबाट आएका हुन् भने देव वाम पृष्ठभूमिका हु्न् । गच्छदारले पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देव र भूमिसुधार तथा ब्यवस्था मन्त्री गोपाल दहितलाई पार्टीबाट हटाउने प्रयास गर्दैआएका छन् ।

गच्छदार २०६४ मा कांग्रेसबाट अलग भई उपेन्द्र यादव नेतृृत्वको फोरममा आवद्ध भएका थिए । फोरम फुटाएर उनले पछि लोकतान्त्रिक फोरम बनाएर लगातार मन्त्री हुँदै आएका छन् । गच्छदारलाई उपसभापति वा महामन्त्रीमध्ये एक पद दिनेबारे कांग्रेस शीर्ष नेताहरुवीच छलफल भएको छ ।