काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताएका हुन् ।


ADVERTISEMENT


परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने; ‘निष्कर्षले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत टेवा पुग्ने विश्वास छ । वन, वातावरण क्षेत्रलाई कसरी अझ बढी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उपयोगी हुने गरी निष्कर्ष आउनेछ र यसले सरकारलाई नीति निर्माणमा योगदान हुनेछ ।’


ADVERTISEMENT

# # #


सामुदायिक वन उपभोक्ता समूहको योगदान नभएको भए अहिले मुलुकका धेरै वनमा मरुभूमीकरण भइसक्ने जनाउँदै उनले ४५ प्रतिशत वन क्षेत्र मुलुकका लागि गौरवको विषय भएको र यो नेपालका लागि मात्र नभई विश्वका लागि नै महत्वपूर्ण रहेको उल्लेख गरे। वनको विविध उपयोगका लागि वन क्षेत्रलाई कृषि वनका रुपमा पनि विकास गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा सालका बूढा रूख सोत्तर गर्ने काम ठीक नभएको जनाउँदै सरकारले सो कदम गलत भएको ठहराई खारेज गरेको तर्क दिँदै प्रधानमन्त्री ओलीले भने; ‘वातावरण संरक्षणमा अग्ला रूखको विशेष महत्व हुन्छ, त्यसको पूर्ति साना रूखबाट हुन सक्दैन तर ठूला रूख छिपिए मात्र काट्नुपर्छ । अनि मात्र दिगो व्यवस्थापन हुन्छ ।’ उनले सरकारले जनताको चाहना र भावनानुसार मात्र नीति बनाउने जानकारी समेत दिएका छन् ।

दुई दिनसम्म चल्ने परिषद् बैठकमा मुलुकभरबाट ३०० भन्दा बढी सामुदायिक वनका प्रतिनिधि रहेको र छलफलपछि बुधबार घोषणापत्र जारी हुने महासङ्घले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको वनमाथि अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्यसहित २०५२ साल जेठ १८ गते महासङ्घ स्थापना भएको हो । हालसम्म देशभर २२ हजार ४१५ सामुदायिक वन हस्तान्तरण भएका छन् जसमध्ये २९ लाख २७ हजार ३२९ घरधुरीले दुई लाख २७ हजार २५६ हेक्टर वनको व्यवस्थापन गर्दै आएका छन् । रासस